असोज ०६, २०८१, आइतबार
               

आरडीटी परीक्षण बन्द, 'इनफ इज इनफ' र सरकारबीच १२ दिनमा १२ बुँदे सहमति

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण र रोकथाममा सरकारले प्रभावकारी कदम नचालेको विरोधमा अनसन बसेका युवाहरु र सरकारबीच १२ बुँदे सहमति भएको छ ।

सत्याग्रही युवा र स्वास्थ्य मन्त्रालयबीच सोमबार १२ बुँदे सहमति भएपछि इनफ इज इनफका सत्याग्रही इशान अधिकारी (इ) सहितले मंगलबार बिहान अनशन तोडेका हुन् ।

विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टाइनमा राखेपछि मात्रै परीक्षण गरेर इच्छाअनुसार होम क्वारेन्टाइन वा होटल क्वारेन्टाइन वा सार्वजनिक क्वारेन्टाइनमा बस्ने या राख्ने (व्यवस्था गर्ने) सहमति भएको छ । 

यस्तै होम क्वारेन्टाइनको निर्देशिका एक हप्ता भित्र तयार पार्ने सहमति भएको छ ।

यस्तै जोखिममा रहेका सबै (लक्षण देखिएका र नदेखिएका पनि) को राज्यको नीतिअनुसार पीसीआर परीक्षण गर्ने गरी हालको निर्देशिका हप्तादिन भित्र परिमार्जन गर्ने, आरडीटीको प्रयोग स्थगित गर्ने, क्वारेन्टाइन र होल्डिङ सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, क्वारेन्टिनमा रहेकाहरुको अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ देखिए मात्रै घर पठाउने सहमति भएको छ ।

यस्तै सर्वोच्च अदालतको फैसला अनुसार परीक्षण तथा क्वारेन्टाइन लगायतका विषयमा हाल जारी निर्देशिका एवं प्रोटोकललाई परिमार्जन गर्ने सहमति समेत भएको छ ।

सरकारको कार्यविरुद्ध शान्तिपूर्ण आन्दोलन थालेका युवाहरु पछिल्लो समय आमरण अनसन बसेका थिए ।

आरडीटी बन्द

सरकारले कोरोना भाइरस पहिचानका लागि गर्दै आएको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बन्द गर्ने भएको छ ।

१२ बुँदे सहमतिको तेस्रो बुँदामा ‘कोभिड–१९ पहिचानमा लागि आरडीटी प्रयोग स्थगित गर्ने’ उल्लेख छ ।

सहमतिपत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र डा. समिरकुमार अधिकारी तथा अनशनकारीको तर्फबाट 'ई' र पुकार बमले हस्ताक्षर गरेका छन् ।

कोरोना भाइरसको पहिचानका लागि आरडीटी विधि प्रभावकारी नभएको विज्ञहरुले बताउँदै आएका छन् । 

विभिन्न देशमा भएका अध्ययनले पनि यो विधि प्रभावकारी नभएको निष्कर्ष निकालेका छन् । धेरै देशले यो परीक्षण विधि रोकिसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि