बैशाख २२, २०८१, शनिबार
               

२६ जिल्लामा फैलियो सलहको समूह

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

काठमाडौं – भारत हुँदै नेपाल प्रवेश गरेको सलह किरा अहिलेसम्म २६ जिल्लामा पुगेको कृषि तथा पशुप‌ंक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ ।

विभिन्न जिल्लामा पुगेकामध्ये सलहको सातवटा समूह तुलनात्मक रुपमा ठूलो रहेको केन्द्रले उल्लेख गरेको छ ।

अनुमानित १० लाखभन्दा बढीको संख्यामा मकवानपुरको बकैया हेटौँडा नगरपालिकामा देखिएको सलहको समूहले सो क्षेत्रका किसानले एक हजार रोपनी क्षेत्रमा लगाएको मकैबालीमा क्षति गरेको जनाइएको छ । त्यहाँबाट सलहको झुण्ड चितवन प्रवेश गरेको केन्द्रले उल्लेख गरेको छ ।

रुपन्देहीको सैनामैना क्षेत्रमा न्यून क्षति गरेको ५–७ लाखको संख्यामा रहेको सलहको समूह अधिकांश  पाल्पा तथा कपिलवस्तुतर्फ गएको केन्द्रका प्रमुख सहदेव हुमागाईँले जानकारी दिए ।

पाल्पामा चारदेखि पाँच लाखको हाराहारीमा पुगेको सलहको समूहले खेतीमा त्यति क्षति गरेका छैनन् र त्यो समूह स्याङ्जा तथा गुल्मीतर्फ गएको छ ।

८ देखि १० लाखको संख्यामा कपिलवस्तुमा भित्रिएको सलहको समूह पनि खासै क्षति नगरी अर्घाखाँची, दाङ, प्युठान, कास्की, रोल्पासहितका क्षेत्रमा गएको केन्द्रले उल्लेख गरेको छ ।

यसैगरी, चितवन पुगेको सलहको झुण्डमा झण्डै एक लाख तथा सिन्धुलीमा देखिएको झुण्डमा दुई–देखि तीन लाख, ललितपुर, काभ्रे र नुवाकोटको विभिन्न ठाउँमा त्यति नै संख्यामा रहेको जनाइएको छ । चितवनका केही स्थानमा धान बालीमा सलहले क्षति गरेको छ ।

गएको शनिबार भारतसँगको सीमा जोडिएका दक्षिणी क्षेत्रबाट नेपालमा सलहको समूह प्रवेश गरेको थियो ।

वायुको गतिमा आएको परिवर्तनका कारण पूर्वानुमानविपरित नेपालमा मनसुन सुरु भएपछि पनि सलहको समूह प्रवेश गरेको र यसबाट हुने क्षति कम गर्नका लागि प्रयास भइरहेको कृषि मन्त्रालयले दाबी गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि