बैशाख २२, २०८१, शनिबार
               

काठमाडाैं उपत्यकामा छिर्‍यो सलह किरा

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

काठमाडौं– शनिबार नेपालमा प्रवेश गरेको सलह किरा आज काठमाडौँ उपत्यका छिरेको छ । काठमाडौँ उपत्यका नजिकका क्षेत्रमा पनि सलह आइपुगेको तर ठूलो संख्यामा र बालीनालीमा क्षति पुग्ने गरी नआउने विज्ञहरुले अनुमान गरेका छन्। 

हावाको गतिमा आएको परिवर्तनका कारण पूर्वानुमान विपरित अफ्रिकाबाट भारतसम्म आएका सलहको एक झुण्ड शनिबार बिहान नेपालका बारा, पर्सा, सिन्धुली, सर्लाही, रुपन्देहीसहितका जिल्लामा प्रवेश गरेको थियो ।

कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीका अनुसार आइतबार थप झुण्ड भित्रिएको छैन। तर शनिबार भित्रिएका सलहका झुण्ड पाल्पा, मकवानपुर, ललितपुरसहितका क्षेत्रमा पनि पुगेको जानकारी प्राप्त भएको उनले बताए ।

मन्त्रालय अन्तर्गतको खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखाका सहसचिव समेत रहेका डा. केसीले सलहको अवस्थाबारे जानकारी दिँदै भने, ‘हिजो भित्रिएका सलहका झुण्डमध्ये केही झुण्डमा केही सय तथा केही झुण्डमा केही हजारको संख्यामा सलह रहेको आँकलन गरिएको छ ।

मकवानपुर, बारा तथा पाल्पातिर पुगेको सलहले केही क्षति गरेको भन्ने आएको छ। तर नेपाल छिरेका सलह सामान्यभन्दा चाँडो एक स्थानबाट अर्को स्थानमा सरेको देखिएको छ ।’

उनले अघि भने, ‘ललितपुरसहितका क्षेत्रमा पनि आएको कुरा छ, तर केही सयको संख्यामा रहेकाले खासै क्षति भने गर्दैनन् । थप झुण्ड आयो भने चाहिँ समस्या हुन सक्छ ।’

मन्त्रालयले यसअघि नै बनाएको कार्ययोजना अनुसार प्रभावित क्षेत्रमा विज्ञ खटिने तथा किसानलाई सजग बनाउने काम भइरहेको उनले जानकारी दिए ।

अहिले नै विषादी प्रयोग गर्नु पर्ने गरी सलह नआएकाले धुवाँ लगाउने, टिन तथा ढ्याङ्ग्रो ढोकेर आवाज निकाली भगाउने काम भइरहेको डा. केसीले बताए। आवश्यक परेको अवस्थामा विषादी मौज्दात रहेको उनले बताएका छन् ।बुटवलमा शनिबार देखिएको सलह किरा ।

हावाको गति अचानक फरक पर्दा भारतमा ठूलो संख्यामा आएको सलहको झुण्ड छुट्टिएर नेपाल प्रवेश गरेको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको मन्त्रालयले बताएको छ ।

प्रवक्ता डा. केसीले भने, ‘अहिले नै थप समूह आउँछ वा आउँदैन या आएको समूह कति समय नेपाल रहन्छ भन्ने सक्ने अवस्थामा छैनौँ ।’

मन्त्रालयले केही हप्ताअघि यो वर्ष नेपालमा सलह नआउने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको थियो । त्यसमा भनिएको थियो– मनसुन सुरु भएपछिको हावाको गति र सलहको समूह उडिरहेको हावाको गति फरक छ, त्यसैले नेपाल प्रवेश गर्ने सम्भावना छैन ।

तर हावाको गति परिवर्तन हुँदा पूर्वानुमान विपरित सलह छिरेको हो ।

मौसमविदका अनुसार नेपालमा मनसुनका बेला दुई प्रकारका हावा सक्रिय हुन्छन्–बंगालको खाडीबाट आएको र अरबसागरबाट आएको हावा। बंगालको खाडीबाट आएको हावा अधिक सक्रिय हुन्छ  सो वायु दक्षिण–पूर्वबाट उत्तर–पश्चिम दिशामा बहन्छ ।

यस्तै अरब सागरबाट आएको वायु दक्षिण–पश्चिमबाट उत्तर–पूर्व दिशातर्फ बहन्छ। अहिले नेपालमा अरब सागरबाट आएको वायु सक्रिय रहेको छ। अझै केही दिन सोही वायु सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाखाशाले जनाएको छ ।

सोही कारण हावाको गतिमा सापेक्ष भएर सलहको समूह नेपाल आइपुगेको हो । नेपालबाट सलहको समूह जानका लागि दक्षिण–पूर्वबाट उत्तर–पश्चिम दिशामा बहने वायु सक्रिय हुनु पर्ने मौसमविदले बताएको कृषि मन्त्रालयका प्रवक्ता डा. केसीले जानकारी दिए। सलहको समूह हावाको गतिमा सापेक्ष भएर उड्ने गर्छन् ।


कस्तो लाग्यो ?

यो पनि