जेठ ०२, २०८१, बुधबार
               

फरार अभियुक्त १५ वर्षपछि पक्राउ

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडौं । विगत १५ वर्षदेखि फरार हुँदै आएका वन्यजन्तु अपराध मुद्दाका फरार अभियुक्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा हुम्लाको नाम्खा गाउँपालिका घर भई हाल काठमाडौंको बौद्ध बस्ने ५० वर्षीय कुन्जोक छिरिङ तामाङ रहेका छन् । उनलाई आज ब्यूरोबाट खटिएको टोलीले काठमाडौँ–६ सिमलटारबाट पक्राउ गरेको हो । रसुवाको घटना भएकाले उनलाई आवश्यक कारवाहीका लागि आजै लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालय धुञ्चे पठाइएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।  

उनको समूहमा रहेका पाँच जनाको गिरोहलाई विसं २०६२ साल भदौ १६ गते रसुवाको तत्कालीन स्याफ्रु गाविस–९ मा पाटेबाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३८ थान र ११३ किलो बाघको हड्डीसहित पक्राउ गरिएको थियो । अन्य व्यक्तिहरु दोषी ठहर भई कैद भुक्तान गरिसक्दासमेत मुख्य अभियुक्त तामाङ भने फरार हुँदै आएका थिए । 

वन्यजन्तुसम्बन्धी अपराधमा संलग्न रहेकाले उनी इन्टरपोलको समेत सर्वाधिक खोजी सूचीमा थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार उनलाई कारवाही हुनेछ । ऐनको दफा २६ (१) मा दोषी ठहर भए पाँच लाख देखि दश लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजायको हुने व्यवस्था छ  ।


कस्तो लाग्यो ?

यो पनि