पोखरा । गण्डकी प्रदेशमा थप ३४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै आज (बिहीबार) मात्र गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ ।
यसअघि आज बिहान मनाङका एक कर्मचारीसहित ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार, थपिएका ३४ जना संक्रमित नवलपरासी, स्याङजा, पर्वत, तनहुँ र बागलुङका हुन् ।
पूर्वी नवलपरासीका १३ जना, स्याङजाका ९ जना, पर्वतका ४ जना, तनहुँका तीन जना र बागलुङका एक जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका र विनयत्रिवेणी गाउँपालिकाका संक्रमितहरु १९ देखि ३९ वर्ष समूहका छन् ।
स्याङजाको आँधिखोला गाउँपालिकाका संक्रमितहरुमा ७२ र ३४ वर्षीया दुई महिला तथा १३ र १९ वर्षका २ पुरुष छन् । यसैगरी कालिगण्डकी गाउँपालिकाका १८, २१, २६, ३० र ३३ वर्षीय ५ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यस्तै पर्वतको कुश्मा नगरपालिका २० वर्षीय पुरुष, फलेबास नगरपालिकाका १९ र २२ वर्षीय २ पुरुष, जलजला गाउँपालिकाका १६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
बागलुङ गल्कोट नगरपालिकाका ३३ वर्षीय एक पुरुषमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ ।
तनहुँको ब्यास नगरपालिकाका २९, २५ र ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु सबै भारतबाट आएको र सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।
गण्डकीमा योसँगै कोरोना संक्रमितको संख्या ३ सय २४ पुगेको छ । २२ जना निको भइ घर फर्किसकेका छन् भने एक जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।