बाँके । नेपालमा कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।
बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयूमा सोमबार साँझ मृत्यु भएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङका अनुसार, महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
उनी निमोनिया रोगबाट पीडित रहेको बताइएको छ । उनको स्वास्थ्य गम्भीर हुँदै गएपछि गत जेठ ३० गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।
यसैबीच, बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
यसअघि जेठ ४ गते नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।