वीरगञ्ज । प्रदेश २ मा थप ३४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
वीरगञ्जको नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा ३४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमितहरुमा पर्साका १७, बाराका ९, रौतहटका ७ र सर्लाहीका १ जना रहेका छन् ।
संक्रमित ३४ जनामध्ये पर्साका तीन जना महिला हुन् भने बाँकी सबै पुरुष हुन् ।
पर्साको पोखरिया क्वारेन्टाइनमा बस्दै आएका ३२ र ३६ वर्षीया महिलासहित २५, २२, ३५, ४५, २४, ३०, २४ र २९ वर्षका पुरुष गरी १० जनामा संक्रमण पुष्टि भएको छ । पोखरिया क्वारेन्टाइनमा बस्दै आए पनि ३२ वर्षीया महिला वीरगञ्जको र २४ वर्षीय एक पुरुष बहुदरमाईका छन् ।
विन्दबासिनी क्वारेन्टिनमा रहेका सखु्वाप्रसौनी–३ का ४० वर्षीय र विन्दबासिनी–३ का २६ वर्षीय पुरुषमा, जिराभवानी क्वारेन्टाइनमा बस्दै आएका जिराभवानी–१ शान्तिटोलका ३२ वर्षीय पुरुषमा, धोविनी क्वारेन्टाइनका २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
रिपोर्ट आउन ढिलमा भएको भन्दै धोविनी क्वारेन्टाइनबाट ४४ जना भागेर घर गएका थिए । पछि उनीहरुलाई प्रहरीले फिर्ता ल्याएको थियो ।
पर्सागढी नगरपालिका ४ बस्ने ३१ वर्षीया महिला, पटेर्वा सुगौली गाउँपालिका– १ लक्ष्मीपुरका ३७ वर्षीय र पटेर्वासुगौली– ५ निचुटा बस्ने २० वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । उनीहरु सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।
बाराका ९ जना संक्रमित सबै पचरौताका छन् । पचारौताका २४, २३, २५, ३८, ३५, ३०, २४, १६ र ३० वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
रौतहट र सर्लाहीका संक्रमितको थप विवरण आउन बाँकी छ ।