काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४४८ जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमित ४४८ जना मध्ये ४२४ पुरुष र २४ जना महिला रहेका छन् ।
एकैदिनको परीक्षणमा पोजेटिभ देखिएकाे याे अहिलेसम्मकै उच्च संख्या हो ।
यो सँगै नेपालमा संक्रमितको संख्या ५ हजार नाघेको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ४४८ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिए।
नेपालमा हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।
नेपालमा संक्रमितको कुल संख्या पाँच हजार ६२ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
१६ को मृत्यु
यसैबीच, कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुेनको संख्या १६ पुगेको छ ।
अर्घाखाँचीको मालारानी गाउँपालिका-४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बिरामी परी बुटवलमा उपचार गराएर फर्कँदै गर्दा निधन भएका ५७ वर्षीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै मृतकको संख्या १६ पुगेको हो ।
उनको मृत्यु कोरोनाकै कारण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जेठ २३ गते स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो । स्वासप्रस्वासको समस्या भएपछि पुनः उनलाई जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो ।
त्यहाँ पनि उपचार हुन नसकेपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । तर, त्यहाँ पनि उपचार नभएपछि उनलाई घर फर्काइएको थियो । उनको घर फर्कने क्रममै निधन भएको थियो । अर्घाखाँचीमा मात्रै काेरोनाका कारण मृत्यु हुनेकाे संख्या दुई पुगेकाे छ