पोखरा । पोखराको मणिपाल अस्पतालमा उपचाररत एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
पर्वतको कुश्मा नगरपालिका–३ का ३५ बर्षीय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
सवारी दुर्घटनाबाट घाइते भएपछि उनी एक साता अघि अस्पताल भर्ना भएका थिए ।
उनी अस्पतालमा उपचारको लागि आएको बेला भाइरसको शंका लागेपछि स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार नतिजा पोजेटिभ देखिएको निर्देशक शर्माले जानकारी दिए ।
संक्रमितको कुनै ट्राभल हिस्ट्री नभएको र दुर्घटना लगत्तै ती व्यक्ति उपचारका लागि पोखरा आएको कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।
अस्पतालबाटै उनमा संक्रमण फैलिएको हुनसक्ने उनको आशंका छ । संक्रमित व्यक्ति अस्पतालको ‘न्यूरो’ शाखाको आइसियूमा छन् ।
गण्डकी स्वास्थ्य निर्देशनालयले संक्रमणको स्रोत खोज्न थालिएको जनाएको छ ।
यसैबीच, शुक्रबार गण्डकी प्रदेशका ४ जिल्लाका ३ देखि ६६ वर्ष उमेर समुहका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार पर्बतका १३ पुरुष, स्याङ्जाका २२ पुरुष, तनहुँका १ जना पुरुष र नवलपुरका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसन कक्षमा लगिने बताइएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।