असोज ०६, २०८१, आइतबार
               

कोरोना निको नहुँदै अस्पतालले घर पठाएपछि गाउँभरि त्रास

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

सेती प्रादेशिक अस्पताल धनगढीले बैतडीका कोरोना सङ्क्रमितहरुलाई कोरोना निको नहुँदै घर पठाएको छ । सङ्क्रमितहरु निको नहुँदै घर पुगेपछि गाउँमा त्रास बढेको हो । 

जिल्लाको शिवनाथ गाउँपालिकाका ४ जनालाई कोरोना निको नहुँदै घर पठाएको हो । यसरी घर आउनेहरुमा वडा नम्बर १ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्बर २ का २० र २२ वर्षीय पुरुष रहेका छन् ।

जेठ २३ गते अस्पतालले कोरोना निको नहुँदै घर पठाएका उनीहरु चारैजना २५ गते मात्रै घर पुगेका हुन् । कैलालीको गौरीफन्टा नाका भएर भारतबाट फर्किएका उनीहरुमा यही जेठ १० गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।

अहिले सङ्क्रमितलाई ७ दिनसम्म होम क्वारेन्टाइनमा बस्न भनिएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए । 

स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुले कोरोनालाई जितेपछि डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । कोरोनाको खासै लक्षण र स्वास्थ्यमा समस्या नदेखिएका कारण सङ्क्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।  

सेती प्रादेशिक अस्पतालले जेठ २३ गते बैतडीका ४ सहित ६ जना कोरोना सङ्क्रमितलाई  डिस्चार्ज गरेको थियो । बैतडीका ६ सङ्क्रमितमध्ये १ जना यसअघि बुधवार कोरोना जितेर जिल्ला अस्पताल बैतडीबाट डिस्चार्ज भइसकेका छन् भने १ जनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।  

 


कस्तो लाग्यो ?

यो पनि