असोज ०६, २०८१, आइतबार
               

दैनिक सयौँ सङ्क्रमित थपिँदा पनि, भारत र चीनसँग जोडिएका जिल्ला ग्रिन जोनमै
अहिलेसम्म कोरोना पोजेटिभ नदेखिएको ६ जिल्ला

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३ हजार ७६२ पुगेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३१४ कोरोना भाइरस सङ्क्रमित थपिएका हुन् । 

दिनप्रतिदिन सङ्क्रमित तीव्र गतिमा थपिँदै गएका छन् । वैसाखयता सङ्क्रमितको सङ्ख्या लगातार बढ्दो छ । नेपालभर संक्रमण फैलिदा अधिकांश जिल्लामा मानिसहरू सङ्क्रमित छन् । हालसम्म देशभर एक लाख ५६ हजार ९ सय ९१ को आरडिटी परीक्षण गरिएको छ। पिसिआर विधिबाट एक लाख ९ सय ७१ जनाको कोरोना परीक्षण गरिएको छ । यी परीक्षण गरिँदासम्म मुलुकका ७७ मध्ये ६ जिल्लामा हालसम्म संक्रमण पुष्टि भएको छैन ।

केही साता अघिसम्म ग्रिन जोन देखिएको कर्णालीमा पछिल्लो समय सङ्क्रमित तीव्र रूपमा थपिएका छन् । सबैभन्दा धेरै सङ्क्रमित प्रदेश २ मा छन् । त्यसपछि प्रदेश ५ मा सङ्क्रमित छन् । यी दुवै प्रदेशमा सङ्क्रमितको सङ्ख्या हजारभन्दा माथि नाघेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार अहिलेसम्म ७१ जिल्लामा कोरोना संक्रमण देखिएको छ । ६ वटा जिल्लामा भने संक्रमण देखिएको छैन । संक्रमण नदेखिएका ६ जिल्लामा प्रदेश १ का २ जिल्ला इलाम र ओखलढुङ्गा छन् । प्रदेश ३ को रसुवा रहेको छ । गण्डकी प्रदेशका मनाङ र मुस्ताङमा पनि कोरोना पुगेको छैन । यस्तै  कर्णाली प्रदेशको रुकुम पश्चिममा पनि कोरोना संक्रमण देखिएको छैन । मुलुकभर दैनिक सयौँ सङ्क्रमित देखिँदै गर्दा पनि ती जिल्लाहरू अझै ग्रिन जोनमै छ । 

ती जिल्लामा आवतजावत नै कमी भएकाले संक्रमण देखिएको छैन । लकडाउनको कडाइका साथ पालन गर्दा पनि संक्रमण नभित्रिएको ती जिल्लाका अधिकारीहरूको तर्क छ । यता प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका भने सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

भारतसँग जोडिएको इलाम ग्रिनजोनमै

प्रदेश १ का १४ जिल्लामध्ये २ जिल्ला ओखलढुङ्गा र इलाममा अहिलेसम्म संक्रमण देखिएको छैन । छिमेकी सबै जिल्लामा सङ्क्रमित भए पनि ओखलढुङ्गामा हालसम्म सङ्क्रमित भेटिएको छैन । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भारतबाट आउनेको सङ्ख्या अरू ठाउँको भन्दा कम र आएकाको कडा निगरानी गर्दा संक्रमण नभित्रिएको बताए ।

पूर्वमा संक्रमण नदेखिएको अर्को जिल्ला हो भारतसँग सीमा जोडिएको जिल्ला इलाम । १२ सय जना बढीको आरडिटी परीक्षण र डेढ सय बढीको पिसिआर परीक्षण गरिसक्दा सबैमा संक्रमण नदेखिएको जनाइएको छ। भारतको दार्जिलिङसँग जोडिएको र त्यहाँ पनि संक्रमण कम भएकाले जिल्लामा आउनेहरूमा संक्रमण नभएको जनाइएको छ । भारतबाट आउनेलाई अनिवार्य क्वारेनटाइन राखेर परीक्षणमा कडाइ गर्दा हालसम्म सङ्क्रमित नभित्रिएको ईलामका सरकारी अधिकारीहरू बताउँछन् ।

चीनसङ सीमा जोडिएको रसुवा ग्रिन जोनमै

बाग्मती प्रदेशको १२ जिल्लामा सङ्क्रमित देखिदा चीनसङ सीमा जोडिएको रसुवामा भने सङ्क्रमित भेटिएका छैनन् । चीनको तिब्बतसँग सीमा जोडिएको जिल्ला बाग्मतीमा १ सय बढी सङ्क्रमित छन् । यहाँ ३ जनाको मृत्यु भइसकेको छ । रसुवामा झन्डै ५ सय जनाको आरडिटी परीक्षण गरिएकोमा ९ जनाको पोजेटिभ रिपोर्ट आएको थियो ।

तर, उनीहरूको पिसिआर गर्दा संक्रमण पुष्टि नभएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । झन्डै ५० जनाको पिसिआर  परीक्षण गरिदा नेगेटिभ आएको उनले बताए । उनले भने ‘अरू जिल्लामा संक्रमण दिनदिनै बढिरहँदा रसुवामा भने एक जना पनि सङ्क्रमित नदेखिनुको कारण लकडाउन सुरु हुन पूर्व नै जिल्लामा आवतजावतमा कडाइ गर्नु गरिनु मुख्य कारण हो ।’ रसुवामा भने ३३ जना मात्रै अहिले क्वारेनटाइनमा छन् । 

ग्रिन जोनमै हिमाल पारीका दुई जिल्ला 

गण्डकी प्रदेशमा कोरोना संक्रमण दैनिक बढिरहेको छ । अरू प्रदेशको तुलनामा यस प्रदेशमा कम सङ्क्रमित छन् । प्रदेशका ११ मध्ये हिमाल पारीका जिल्लाहरू मनाङ र मुस्ताङलाई अहिलेसम्म कोरोनाले छोएको छैन । मुस्ताङमा अहिलेसम्म १५ जनाको पीसिआर गरिएकोमा सबैको जनाकै नेगेटिभ रिपोर्ट आएको छ । ३ सय बढीको आरडीटी गरिएकोमा केहीको पोजेटिभ आए पनि पछि सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

मुस्ताङमा भारतबाट आउनेको सङ्ख्या करिब शून्य नै छ । अहिलेसम्म १ जना मात्रै भारतबाट आएको र उनको रिर्पाेट नेगेटिभ आएको छ । हिमाल पारीकै अर्को जिल्ला मनाङमा पनि भारतबाट आउनेहरू कम छन् । अहिलेसम्म बाहिरबाट आएका १५ जना क्वारेनटाइनमा छन् । करिब ८० जनाको आरडिटी र ६ जनाको पिसिआर गरिएको छ । सबैको रिर्पाेट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

उता केही साता अघिसम्म ग्रिन जोन देखिएको कर्णालीमा पछिल्लो समय सङ्क्रमित तीव्र रूपमा थपिएका छन् । तर रुकुम पश्चिममा भने अहिलेसम्म कोरोना सङ्क्रमित देखिएको छैन ।


कस्तो लाग्यो ?

यो पनि