बैशाख २३, २०८१, आइतबार
               

मनसुन ढिलो भित्रिँदा क्यालेन्डरै फेर्ने तयारी

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

यस वर्ष नेपालको मनसुनी क्यालेन्डर परिवर्तन हुने भएको छ । ढिलो गरी भित्रिने मनसुन ढिलै अन्त्य हुन थालेपछि क्यालेन्डर हेरफेर गर्ने तयारी गरिएको हो । अंग्रेजी महिनाको जुन १० जेठ (२७/२८) देखि सेप्टेम्बर २३ (असोज पहिलो साता) सम्मको अवधि नेपालको मनसुनी क्यालेन्डर हो । यो अवधि हेरेफेर गर्न जल तथा मौसम विज्ञान विभागको हावापानी विज्ञान महाशाखाका प्राविधिक तीन दशकयताको मौसमी तथ्यांक विश्लेषणमा जुटेका छन् ।

मनसुनी क्यालेन्डर हेरफेर गर्न वर्षौंअघिको मौसमी तथ्यांकलाई सूक्ष्म ढंगबाट विश्लेषण गर्नुपर्ने भएकाले प्राविधिक सो कार्यमा जुटेका विभागका महानिर्देशक सरजकुमार वैद्यले बताए । ‘मनसुनको स्वरूप परिवर्तन हुन थालिसकेको छ, मनसुनको सुरुवात पूर्वनिर्धारित समय आसपासमा हुने भए पनि बर्हिगमन अवधि निकैपछि धकेलिन थालेको छ’, उनले भने, ‘त्यसैले क्यालेन्डर हेरफेर गर्ने तयारी हुँदैछ।’

यसको तयारी केही समय अघिदेखि भए पनि वर्षासहित समग्र मौसमी तथ्यांक विश्लेषण गर्न समय लागेको र यस वर्षको मनसुन भित्रिने अवधि नजिकिएकाले आगामी वर्षदेखि क्यालेन्डर हेरफेर हुने वैद्यले बताए।

विश्वव्यापी अभ्यास र विश्व मौसम संगठन (डब्ल्युएमओ) को दिशानिर्देशअनुसार नयाँ क्यालेन्डरका लागि तयारी भइरहेको विभागकी सिनियर डिभिजलन मेट्रोलोजिष्ट डा. इन्दिरा कँडेलले जानकारी दिइन्। अन्तर्राष्ट्रिय हवाई उडानका लागि मौसमी सूचना र तथ्यांक प्रदान गर्ने उद्देश्यका साथ सन् १९६६ मा तत्कालीन जलस्रोत विभागअन्तर्गत मौसम शाखा स्थापना भएयता नेपालले मौसमी क्यालेन्डर हेरफेर गरेको छैन। सो वर्ष डब्ल्युएमओको सदस्य बनेपछि नेपालले मौसमी सूचना सम्प्रेषणको औपचारिक अभ्यास सुरु गरेको मानिन्छ।

छिमेकी मुलुक भारतले समेत यो वर्षदेखि क्यालेन्डर हेरफेर गरेको र नेपालको मनसुन विदा हुने अवधि दुई साताभन्दा बढी धकेलिन थालेपछि विभागका प्राविधिक गृहकार्यमा व्यस्त छन् ।

भारतीय मौसम विभागले यो वर्षदेखि विभिन्न ११ प्रान्तका ६३ सहरको मौसमी क्यालेन्डर हेरफेर गरेको छ। नयाँ क्यालेन्डर अनुसार जुन २७ दिल्लीका लागि नयाँ क्यालेन्डर हो, गत वर्षसम्म त्यहाँ जुन २३ लाई मनसुन सुरु हुने अवधि मानिएको थियो।

भारतमा सबैभन्दा छिटो जुन १ तारिख आसपासमा केरलामा मनसुन सुरु हुने गरेकोमा त्यहाँको तालिका भने हेरफेर गरिएको छैन। मनसुन बंगालको खाडी दक्षिण भारत हुँदै क्रमशः म्यानमार, भारतकै कोलकाता, सिक्किम, बंगलादेशहुँदै मुलुकको पूर्वी भेगबाट भित्रिने गर्छ।

 


कस्तो लाग्यो ?

यो पनि