असोज ०६, २०८१, आइतबार
               

कोरोना संक्रमित क्याम्पसमा,  रेखदेखको जिम्मा सेनालाई

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

बागलुङ जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि थप संक्रमितलाई धौलागिरी क्याम्पसको कक्षा कोठामा राखिएको छ ।  गण्डकी प्रदेशले कोरोना अस्पतालको रुपमा सूचीकृत गरेको धौलागिरी अस्पतालमा निर्माण गरिएको २४ बेडको आइसोलेसन भरिएपछि  प्रीआइसोलेसनको रुपमा धौलागिरी क्याम्पसको कक्षा कोठा प्रयोगमा ल्याइएको हो ।

 धौलागिरी अस्पतालमा १७ जना संक्रमित र क्वारेन्टाइन बसेका र स्वास्थ्य समस्या देखिएका दुई युवालाई राखिएको छ । आइतबार एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएकाले अस्पतालले धान्ने अवस्था नभएपछि क्याम्पसमा सामान्य खालको आइसोलेसन तयार गरिएको धौलागिरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले बताए ।

 ‘हामीसँग ५ आइसोलन खाली त थियो तर एकै दिन १० जनामा कोरोना संक्रमण देखिएकाले विकल्प खोज्नुपर्ने बाध्यात्मक अवस्था आयो,’ डा.पोखरेलले भने, ‘अस्पतालमा जटिल समस्या देखा पर्दाका बखत पाँच बेडको आइसोलेसन वैकल्पिक रुपमा राखेका छाैँ।’ कोही संक्रमितमा स्वास्थ्य समस्या देखिए खाली रहेका बेडमा ल्याए। उपचार गरिने उनले बताए ।

आइतबार संक्रमण पुष्टि भएका बडिगाड गाउँपालिकाका–९ जनालाई धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा राखिएको छ । संक्रमित बढ्दै गएपछि जिल्लाको ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ प्राथामिक स्वास्थ्य केन्द्रमा पनि २५ बेडको आइसोलेसन तयार गरिएको छ । जसमा ढोरपाटनका एक संक्रमितलाई राखिएको छ । 

आइसोलेसनमा राखिएकाहरुको स्वास्थ्य हेरचाह धौलागिरी अस्पताल र बागलुङ नगरपालिकाका स्वास्थ्यकर्मीले आलोपालो गर्नेछन् भने खानाको व्यवस्था बागलुङ नगरपालिकाले गरेको छ । क्याम्पस परिसरमा सुरक्षा रेखदेखको जिम्मा भने नेपाली सेनालाई दिइएको छ ।

बागलुङ जिल्लामा अहिलेसम्म २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये शुरुवाति संक्रमण पुष्टि भएका दुई जना निको भएर घर फर्किसकेका छन् । अन्य २७ जना उपचाररत छन् । सबै भारतबाट आएका हुन् । अहिले पनि बागलुङका विभिन्न स्थानीय तहमा भारतबाट आएका १६ सय ४३ जना क्वारेन्टाइनमा छन् । उनीहरुमध्ये केहीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ भने अधिकांशको स्वाब संकलन गर्न बाँकी छ । 


कस्तो लाग्यो ?

यो पनि