असोज ०६, २०८१, आइतबार
               

स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेर मध्यपुर अस्पताल सञ्चालनमा

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

मध्यपुरथिमि नगरपालिका–४ थिमिस्थित मध्यपुर अस्पताल पुनः सञ्चालनमा आएकाे छ । अस्पतालमा कार्यरत ३० जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेर अस्पतालले आजदेखि आफ्नो सेवा सञ्चालन गरेको जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भएकी भक्तपुर बस्ने सुत्केरीको सो अस्पतालका चिकित्सकले शल्यक्रिया गरेका थिए  । 
 
अस्पतालका मेडिकल निर्देशन डा. रविना प्रधानाङ्गले महिलाको प्रत्यक्ष सम्पर्कमा आएका ६ जना चिकित्सक, १२ नर्सिङ स्टाफ, ११ हेल्पर र एक ल्याब स्टाफ गरी ३० जनालाई क्वारेन्टाइनमा राखिएको जानकारी दिइन् । दोलखा स्थायी घर भई हाल भक्तपुर कमलविनायकमा डेरा गरी बस्ने ३० वर्षीया गर्भवतीको जेठ २१ गते अस्पतालमा भर्ना भई सोही दिन शल्यक्रिया गरी सुत्केरी गराइएको थियो ।
 
लकडाउनसँगै दोलखा घर लकडाउनकै बीचमा फर्किएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।  सुरुमा निजामती (सिभिल) अस्पताल गए पनि भर्ना गर्न नमानेपछि यही १८ गते काठमाडौ‌ं मेडिकल कलेज (केएमसी) सिनामङ्गल गएर भिडियो एक्सरे गरी शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण गर्न स्वाब सङ्कलन गरी टेकु पठाएको थियो ।
 
यसपछि ती महिला कमलविनायकस्थित एक स्वास्थ्य संस्थामा प्रसूति रोग विशेषज्ञलाई भेटेर परामर्श लिइ स्वास्थ्य जाँच गरेको पाइएको छ । केएमसीमा शल्यक्रिया गर्ने तयारी गरे पनि यही २१ गते सो  अस्पतालको सेवा केही समयमा लागि बन्द भएपछि उनी  मध्यपुर अस्पताल गएकी हुन् ।

 २३ गते अस्पतालले डिस्चार्ज गरेपछि काठमाडौँ कोटेश्वरस्थित माइती गएको पाइएको मध्यपुर नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

तर, सुत्केरी शल्यक्रिया गर्नु अगाडि गरिएको पिसीआर परीक्षणको रिपोर्ट जेठ २४ गते शनिबार पोजेटिभ आएपछि मध्यपुरथिमि नगरपालिका, महानगरीय प्रहरी वृत्त थिमि, सीएमसीको टोलीसँग छलफल गरी सङ्क्रमितसँग सम्पर्कमा आएकालाई क्वारेन्टिनमा राख्ने र अस्पतालको सेवा सुरक्षितरूपमा सञ्चालन गर्ने निर्णय गरेको उनले बताए । सुत्केरी महिलालाई पाटन अस्पतालको आइसोलेसनमा उपचारका लागि लगिएकोे छ ।
 
    हाल यी महिलासँगै भक्तपुरमा ६ जनामा कोरोना सङ्क्रमित भएका छन् । यसअघि चाँगुनारायण नपा–३ झौखेलकी गर्भवतीको पनि केएमसीमा भएको कोरोना परीक्षणमा पोजेटिभ आएपछि अहिले पाटन अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

त्यसैगरी चाँगुनारायण नपा–१ दुवाकोटस्थित केएमसी अस्पतालको आइसोलेसनमा कोरोना सङ्क्रमित आठ जनाको उपचार भइरहेको छ । केएमसी सिनामङ्गलका सङ्क्रमित तीन स्वास्थ्यकर्मी र काभ्रेमा यही २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको पाँच गरी आठ जनाको उपचार भइरहेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि