कात्तिक २६, २०८१, सोमबार
               

विदेशमा रहेका नेपालीको यसरी हुँदैछ उद्दार

नेपाल फ्ल्यास
जेठ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले विभिन्न देशमा समस्यामा परेका नेपाली नागरिकलाई उद्दार गर्ने निर्णय गरेको छ । 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उच्चस्तरीय समन्वय समितिको बैठकले विदेशमा समस्यामा परेका नेपालीको उद्दार गर्ने निर्णय गरेको हो ।

शुक्रबार दिउँसो सिंहदरबारमा बसेको समितिको बैठकले विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई स्वदेश ल्याउनका लागि बनाइएको कार्ययोजना पारित गरेको छ । 

१० दिनभित्र विवरण संकलन गरेर सूची बनाइने र त्यस लगत्तै उनीहरुलाई नेपाल फर्काइने एक मन्त्रीले जानकारी दिए ।

भारतबाहेक तेस्रो मुलकका समस्यामा परेका नेपालीलाई उद्दार गर्ने सरकारको तयारी छ । विवरण परराष्ट्र मन्त्रालयले संकलन गर्नेछ । 

थप तयारीका लागि कार्ययोजनामा परिवर्तन गर्न आवश्यक भएकाले मुख्यसचिव नेतृत्वको कार्यदललाई जिम्मेवारी दिइएको छ ।

विभिन्न मुलुकमा समस्यामा परेका २५ हजार नेपालीलाई पहिलो चरणमा उद्दारको प्रस्ताव गरिएको छ । 

क्वारेन्टाइनमा होटलमा बसाल्ने र सम्बन्धित व्यक्तिले नै रकम तिर्नेलगायतका विभिन्न विकल्पमा छलफल भएको छ । 

नेपालमा रहेका सबै कम्पनीका जहाजले नेपाली नागरिकको उद्दार गर्नेगरी कार्यविधि बनाइएको छ । 

सबै जहाजको प्रयोग गर्दा दैनिक ३ हजार ५ सय नेपाली ल्याउन सकिने अनुमान गरिएको छ ।

नेपाल आउन चाहनेले आफैले जहाजको भाडा दिनुपर्नेछ भने नेपाल आइसकेपछि आफूले छानेको होटलको खर्च पनि बुझाउनु पर्नेछ । त्यसका लागि सरकारले भाडादर तय गर्नेछ ।

१४ दिनसम्म राखेर स्वास्थ्य परीक्षण गर्ने र त्यसपछि मात्रै सम्बन्धित व्यक्तिको ठेगानामा पठाउने व्यवस्था मिलाइएको एक मन्त्रीले जानकारी दिए ।

समितिले निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार नै ब्रिफिङ गरिनेछ ।

समितिको बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले विदेशमा आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजक्रिया गर्न आउनुपर्ने, भिसा सकिएर अलपत्र अवस्थामा रहेका व्यक्तिहरुलाई फर्काउने निर्णय गरिएको जानकारी दिए ।

त्यस्तै श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, कोरोना बाहेक अन्य स्वास्थ्यको दृष्टिकोणले अस्वस्त रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई स्वदेश फर्काइने उनले बताए

यस्तै सरकारी सेवामा रहेर तालिम वा अध्ययनका लागि विदेशमा रहेका नागरिकले सम्बन्धित देशको दूतावासमा आफ्नो विवरण टिपाउनुपर्ने उनले जानकारी दिए । सरकारले सम्पूर्ण देशबाट विवरण प्राप्त भएपछि नेपाल वायु सेवा निगम वा नेपालका अन्य वायु सेवा कम्पनीबा जहाजबाट उनीहरुको उद्धार गर्ने विडारीले जानकारी दिए ।

सचिव विडारीका अनुसार प्राप्त विवरण परिचान गरी परराष्ट्रमन्त्रालयले त्यसको सूची संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालाई दिनेछ । पर्यटन मन्त्रालययले हवाई उडानको व्यवस्था गरेर उनीहरुलाई नेपाल ल्याउने छ ।

समितिले भारतमा रहेका नेपाली नागरिकहरुलाई ल्याउन देशका विभिन्न नाकाहरुलाई आधिकारिक रुपमा तोकेको छ । सचिव विडारीका अनुसार पशुपतिनगर, काँकडभित्ता, रानी, सुनौली, ठाडी, माडर, मलंगवा, गौर, विरगञ्ज र महेशपुर नाका तोकेको छ ।

यसैगरी बेहलिया, तौलिहवा, कृष्णनगर, जमुनाह, गौरिफण्टा, गड्डाचौकी, झुलाघाँट र दार्चुलाका नाकाहरु तोेकेको छ । मन्त्रिपरिषद बैठकले यसअघि नै विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश ल्याउने निर्णय गरिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि