बैशाख २४, २०८१, सोमबार
               

सेनाले चीनबाट ल्यायो १४ टन स्वास्थ्य सामग्री

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

चीनबाट हवाई मार्ग हुँदै नेपाली सेनाले स्वास्थ्य सामाग्री ल्याएको छ । २८ हजार पीसीआर किट, पीपीईलगायतका सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

सेनाको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको हवाई जहाज बुधबार चीनको ग्वान्झाओ गएको थियो । नेपाली सेनाले बुधबारको पत्रकार सम्मेलनमा २८ टन स्वास्थ्य सामग्री दोस्रो लटमा ल्याउने बताए पनि १४ टन मात्रै सामग्री आएको छ ।

३० वटा पोर्टेबल एक्सरे मेसिन रहेकाले अहिले हवाईमार्गबाट भने जति सामान ल्याउन नसकिएको सैनिक प्रवक्ता पाण्डेले बताए । बाँकी सामग्री अब स्थलमार्गबाट तातोपानी भन्सार नाका हुँदै ल्याउने उनले बताए । यसअघि ६ जेठमा सेनाले १८।९ टन स्वास्थ्य सामग्री पहिलो चरणमा हवाई मार्गबाट ल्याएको थियो ।

ओम्नी विजनेस कर्पोरेसन इन्टरनेशनलसँग भएको सम्झौता विवादित बनेपछि सरकारले त्यसलाई रद्द गर्दै स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको सेनालाई दिएको थियो । तर सेनाले पनि लामो समय स्वास्थ्य सामाग्री ल्याउन नसकेपछि आलोचना भएको थियो ।

जंगीअड्डाले पहिलो चरणमा हवाई मार्गबाट मे ५ तारिखमा ३७ टन स्वास्थ्य सामग्री ल्याउने बताए पनि आएन । भन्सारको प्रक्रिया र चीनमा सरकारी विदाको कारण समयमा सामान ल्याउन नससकेको उसको दाबी थियो ।

अब थप अत्यावश्यक स्वास्थ्य सामग्री स्थलमार्गबाटै ल्याउने सेनाको तयारी छ । सेनाले तीन सय ४२ टन स्वास्थ्य सामग्री ल्याउने गरी दुई अर्ब २५ करोढ बढीको सम्झौता ९ वैशाखमा गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि