औपचारिकता पूरा गर्नकै लागि भए पनि नेपालमा गणतन्त्र दिवस मनाउने तयारी भइरहँदा धनुषास्थित भारतीय सीमानाकामा एक युवकले उपचारका लागि स्वदेश फर्किन संघर्ष गर्दा–गर्दै प्राण त्यागेका छन् ।
कोरोना त्रास र अनिश्चितकालीन बन्दाबन्दीको कारण कोही कलेज बन्द भएर त कोही कामबाट निकालिएर भारतका विभिन्न राज्यबाट नेपाल फर्किन सीमामा जम्मा भएका थिए । धनुषा जिल्लाभरिका नागरिक भारतबाट फर्किन जिल्ला प्रशासनले तोकेको जटही नाका हो । सीमापारि करिब चार सय नेपाली नागरिक थुनिएका थिए । सबैमा यथाशक्य चाँडो नेपाली भूमिमा पाइला टेक्न पाउने तीव्र अभिलाषा थियो ।
भारतीय प्रहरीले नेपालबाट नगरपालिकाहरूले गाडी पठाएमात्र सम्बन्धित पालिकाका नागरिकलाई जान दिने नियम लगाएको रहेछ । अघिल्लो दिनदेखि नै आफ्नो पालिकाको सवारी पर्खिरहेकाहरूको बीचमा एक बिरामी दरभंगाबाट एम्बुलेन्स चढेर आइपुगेका थिए ।
लामो दूरी र असहज यात्राका कारण सामान्य बिरामी भएका उनी खान नपाएर धेरै कमजोर भइसकेका थिए । दिनहुँ सयौंको संख्यामा जम्मा भइरहने नाकामा बिस्कुट र पानीसम्म पाइँदैन । जब खान नपाएकै कारण ती बिरामीले सिरानीमा लुगाफाटो बोकेको झोला राखेर प्राण त्यागे अनि सँगै रहेको भिडले धैर्यता गुमाउन पुगे ।
धनुषा, सहिदनगर नगरपालिका ९ का ३० वर्षीय वीरेन्द्र यादवको मृत्यु भएपछि उनीजस्तै घर फर्किन त्यहाँ जम्मा भएको भिड प्रहरीले भिरेको बन्दुकको समेत वास्ता नगरी नेपाल सरकार, प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका अन्य नेताहरूविरुद्ध चर्को नाराबाजी गर्न थाले ।
नाराबाजीमा उत्रेका उनीहरूको आक्रोशअगाडि भारतीय प्रहरी निरिह बन्यो । उनीहरू आन्दोलनकारीको शैलीमा नेपाल प्रवेश गरे । सीमावारि खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजे पनि भिडको अगाडि असमर्थता जाहेर गर्यो । प्रहरीले अवरोध नगरेपछि उसलाई केही नगरेको भिडले एम्बुलेन्स र सञ्चारकर्मीलाई निसाना बनायो ।
सिमामा आफ्ना नागरिक मरिरहँदा पनि सरकारले वास्ता नगरेको उनीहरुको गुनासो छ ।