जेठ ०६, २०८१, आइतबार
               

रौतहटको क्वारेन्टाइनमा बस्नेहरु बोरा ओछ्याएर सुत्छन्, खाना घरबाट आउँछ

नेपाल फ्ल्यास
जेठ १४, २०७७

ADVERTISEMENT

बुधबार थप २५ जना लाई कोरोना पोजेटिभ देखिएसँगै रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या १०० नाघेको छ । भारतमा यातायात सेवा सुचारु भएसँगै घर फर्किनेसँगै क्वारेन्टाइनमा बस्नेहरुको संख्या बढ्दो छ । र, पछिल्लो थपिएका संक्रमित क्वारेन्टाइनमा बस्नेहरु छन् ।

रौतहटमा १८ पालिकाको ३८ क्वारेन्टाइनमा  अहिले ३ हजार १ सय ७४ जना बसेका छन् । सबैभन्दा धेरै राजपुर नगरपालिकामा छन् । ११ क्वारेन्टाइनमा दुई हजार बढी रहेको राजपुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले बताए ।

क्वारेन्टाइनमा बस्नेको संख्या बढेसँगै उनीहरुको व्यवस्थापन र खानपानमा समस्या भएको छ । ‘क्वारेन्टाइनमा दिइने खाना निल्नै नसक्ने हुन्छ । त्यसैले घरबाटै खाजा र खाना मगाएर खाने गरेको छु’ राजदेवी नगरपालिकाको नेमधारी वासुदेव क्वारेन्टाइनमा रहेका एक युवकले अनलाइनखबरसँग भनेका छन्, ‘त्रिपाल र प्लास्टिकमाथि तन्ना ओछयाएर भुँईमा सुत्नुपर्छ ।’ उनकाअनुसार कोही विद्यालयको बरण्डा, र कोही चौरीमै नै सुत्ने गरेको छन् ।

विद्यालयमा बनाइएको क्वारेन्टाइनमा खानेपानी र शौचालयको सबै भन्दा बढी समस्या रहेको उनले बताए । १४० जनाका लागि एकमात्र धारा छ भने शौचालय पनि कम छ । सेनेटाइजर र साबुन घरबाटै मगाउनु परेको उनले बताए ।

राजदेवी नगरपालिकाको मात्रै होइन, रौतहटका अधिकांश क्वारेन्टाइनको अवस्था उस्तै छ । घरबाटै खाना पुर्‍याउँदा क्वारेन्टाइन स्थलमा भीड पनि हुन थालेको छ । जुद्ध उच्च माविमा रहेको क्वारेन्टाइनमा खाना र अन्य सामान पुर्‍याउनेहरु क्वारेन्टाइनभित्रै पसेर भेटघाट, कुराकानी गर्ने गरेको पाइएको छ ।

यसले क्वारेन्टाइन स्थलबाट समुदायमा समेत कोरोना संक्रमण फैलिने खतरा बढेको छ ।क्वारेन्टाइनमा रहेका आफन्तलाई खाना पुर्‍याउन लाइन लागेकाहरू । स्थानीय तहहरुले पनि भारतबाट फर्किएकाहरुको व्यवस्थापन गर्न नसक्ने बताउन थालेका छन् ।

राजपुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले भने ‘बैरियाको एउटै क्वारेन्टाइनमा भारतबाट फर्किएका ५१० जना छन् । सबै क्वारेन्टाइनमा बस्नेको संख्या जोडदा दुई हजारसम्म पुग्छ ।’

निमित प्रमुख प्रशासकीय अधिकृत ठाकुरले अघि भनेका छन्, ‘सिमित श्रोत साधन भएको नगरपालिकाले यो चाप थेग्न सक्दैन । हामी नसक्ने अवस्थामा छौं, जिल्ला विपत व्यवस्थापन समिति, प्रदेश र केन्द्रले पनि सहयोग गर्नुपर्छ ।’


कस्तो लाग्यो ?

यो पनि