असोज ०५, २०८१, शनिबार
               

कोरोना किट अभाव, खतरा बढ्यो

रासस
जेठ १४, २०७७

ADVERTISEMENT

विभिन्न मुलुकबाट आउने नागरिक वृद्धिसँगै पाल्पामा कोरोना परीक्षणका लागि आवश्यक किट अभाव देखिएको छ । पाल्पा हेल्प डेस्कका संयोजक टुकप्रसाद भट्टराईका अनुसार सीमाक्षेत्रबाट उद्धार गरेर ल्याइएका नागरिकको सोमबारदेखि परीक्षण हुन नसकेको बताए।

 पछिल्लो तीन दिनमा करीब ४५० नागरिक पाल्पा भित्रिएकामा आइतबार आरडिटी  तथा पिसिआरका लागि स्वाब संकलन गरिएको तर सोमबारदेखि जिल्ला स्वास्थ्य कार्यालयले परीक्षणका लागि गम्भीरता नदेखाएको भट्टराईको गुनासो छ । उनले भने, “परीक्षण नगरी स्थानीय तहको जिम्मा लगाउन बाध्य छौँ, जिल्लामा भयावह अवस्था आउँछ कि भन्ने चिन्ता छ ।” 

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी यज्ञेश्वर पन्थीका अनुसार गत चैतदेखि अहिलेसम्म जिल्लामा आएका करीब ६ सय जनामध्ये ५ सय ५१ जनाको आरडिटी तथा  ७९ जनाको पिसिआर परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको छ । अब १७० जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ । 

रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर तथा नवलपरासीका विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका पाल्पालीको उद्धार गरी जिल्लामा ल्याएर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ । 

पाल्पा आएका नागरिकलाई तानसेनमा स्थापित क्वारेन्टाइनमा राख्ने, आरडिटी र पिसिआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिए आइसोलेशनमा पठाउने र नेगेटिभ देखिएकालाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाउने व्यवस्था गरिएको जिल्ला समन्वय समितिका कार्यवाहक संयोजक मीरा मरासिनीले जानकारी दिइन् ।

स्थानीय तहमा लगेपछि पुनः १४ दिन क्वारेन्टाइनमा राख्ने तथा आरडिटी गरेर एक हप्ता होम क्वारेन्टिनमा बस्ने गरी पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए। 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि