असोज ०५, २०८१, शनिबार
               

बजेटमा कृषिलाई प्राथमिकतामा राख्न सुझाव

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

काठमाडौं ।  कोरोना भाइरसका कारण सङ्कटमा परेको पर्यटन तथा औद्योगिक क्षेत्रलाई उकास्न तथा  बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न सुझाव दिइएको छ ।   ‘कोभिड –१९  ले पारेको असर र त्यसपछिको उद्यम’का विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल र भैरहवा क्षेत्रका उद्यमीबीच भएको अनलाइन छलफलमा कृषिमा व्यावसायिकता आवश्यक रहेकामा जोड दिइयो ।

छलफलमा मन्त्री घनश्याम भुसालले  किसानका लागि सस्तो र सुलभ ऋण सञ्चालन गर्न जोड दिँदै  प्राविधिक खेतीको बीमा जरुरी भएको बताए ।  आगामी बजेटमा कोरोनाको कारण बाहिरबाट स्वदेश फर्केकाहरुलाई कृषि उद्यममा जोड्ने गरी कार्यक्रम ल्याउन लागिएको तथा बाँझा जमीन उपयोग गर्ने र चक्लाबन्दीमा लैजाने कुरामा बजेट केन्द्रित गर्ने तयारी गरिएको जानकारी दिए । उनले भने, ‘ पहाडमा ३० प्रतिशत बाँझो जमीन छ । तराईमा पनि ठूलो ठूलो बगरको जमीन छ । ती जमीनमा फलफूल वा मौसमी तरकारी गर्न सकिन्छ ।’

मन्त्री भुसालले  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना त्यसतर्फ केन्द्रित गरेर बाँझो जमीन उपयोग गर्नेतर्फ सरकारले तयारी गरिरहेको जानकारी दिए । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य  राजेशकुमार अग्रवालले  उन्नत बीउ र  मल, सिंचाइ र प्रविधिको व्यवस्थापन मिलाएर सहकारीको ढाँचामा कृषिलाई अगाडि बढाउनुपर्ने सुझाव दिए ।   महासङ्घका अर्का केन्द्रीय सदस्य कृष्णप्रसाद शर्माले लकडाउनका कारण खाद्य उद्योग पनि पूर्ण क्षमतामा चल्न नसकेको बताए । 

अनलाइनमार्फत जुम एपमा भएको छलफलमा  कोरोनापछिको भरपर्दो उद्यम कृषि नै भएको उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरका सल्लाहकार जीवलाल अर्यालले बताए  । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्माले किसानलाई सहयोग हुने गरी ठोस नीतिसहितको बजेट ल्याउनुपर्ने सुझाव दिए । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले सरकारले तत्काल बीउ र मलखादको व्यवस्थापनमा जोड दिनुपर्ने बताए । उद्यमी अरुण गोयन्काले कोरोनापछिको आर्थिक अवस्था उकास्ने  कृषि नै भएको तर्क गर्नुभयो । भन्सार एजेन्ट संघका पूर्वअध्यक्ष  कृष्णप्रसाद घिमिरेले भन्सारबाट निर्बाध रुपमा हरियो तरकारी आयात भइरहेको अवगत गराए । 


कस्तो लाग्यो ?

यो पनि