असोज ०६, २०८१, आइतबार
               

रुकुमपश्चिम घटना मानवताविरोधी जघन्य अपराध : आयोन

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

नेपाल युवा सञ्लाल (आयोन)ले रुकुम पश्चिममा अन्तरजातीय विहे गर्नेक्रममा स्थानीयको कुटपिटबाट तीन जनाको मृत्यु र तीन जना बेपत्ता भएको घटनालाई मानवताविरोधी जघन्य अपराधको संज्ञा दिएको छ । जाजरकोटका नवराज विश्वकर्मा र रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती घर भएकी शुष्मा मल्लबीच अन्तरजातीय विवाह गर्ने क्रममा स्थानीयको निर्घात कुटपिटबाट तीन जनाको ज्यान गएको र अझै तीन जना बेपत्ता भएको घटनाले कानुन र मानवताकै हत्या भएको आयोनको टिप्पणि छ । 

विश्वकर्मा र मल्लबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र मल्लकै आग्रह अनुसार शनिबार विश्वकर्मा जन्ती लिएर सोती पुगेको जनाइएको छ । बिहे हुने क्रममा स्थानीयले केटा पक्षमाथि सांघातिक हमला गरेको र ज्यान जोगाउन भाग्ने क्रममा नजिकै रहेको भेरी नदीमा हाम फालेका युवाहरुमध्ये नवराज विश्वकर्मा, टीकाराम नेपाली र गणेश बुढामगरको शव भेटिएको स्थानीय प्रशासनले जनाएको छ । 

‘मुलुक जातीय विभेद र छुवाछुत मुक्त घोषणा भएको दशकौं बितिसक्दा र संविधानमै जातीय विभेदलाई दण्डनीय अपराधका रुपमा परिभाषित गर्दा पनि आजको समयमा अन्तरजातीय विहे गरेकै कारण ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुनुले कानुनको धज्जी त उडाएको छ नै, सँगसँगै हामीले कस्तो समाजको निर्माण गरिरहेका छौं भन्ने गम्भीर प्रश्न पनि उब्जिएको छ,’ आयोनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाले जातीय विभेदलाई पनि उदांगो पारेको छ । यो मानवताविरोधी जघन्य अपराध हो ।’

आयोनका अध्यक्ष जगदीश ऐरले मंगलबार विज्ञप्ति जारी गर्दै घटनाबारे गहिरो अनुसन्धान गरी संविधान र विद्यमान कानुन बमोजिम घटनामा संलग्नहरुलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् । उनले पीडितलाई न्याय, क्षतिपूर्ती र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेका छन् । 
आयोनले तीनै तहका सरकार, स्थानीय, प्रदेश र संघीयलाई जातीय विभेदविरुद्धका सबै घटनामा निर्मम रुपमा प्रस्तुत हुन र देशव्यापी सामाजिक सचेतामुलक अभियान सञ्चालन गर्न पनि अपील गरेको छ । आयोन युवाहरुले नेतृत्व गरेका देशभरका ९० भन्दा बढी सामाजिक संघसंस्थाहरुको छाता संगठन हो ।

 


कस्तो लाग्यो ?

यो पनि