बैशाख २२, २०८१, शनिबार
               

लकडाउनमा घरभाडा छुट गराउन माग

रासस
जेठ १३, २०७७

ADVERTISEMENT

फिदिम । पाँचथरमा व्यवसायीले बन्दाबन्दीका समयको घरभाडा छुट गराउन माग गरेका छन् । 

यहाँका १४० व्यवसायीले सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउँदै बन्दाबन्दीका कारण आर्थिक सङ्कटमा परेको भन्दै व्यवसायको घरभाडा छुटको प्रबन्ध मिलाउन माग गरेका हुन् । 

उनीहरुले पाँचथर उद्योग वाणिज्य सङ्घ, फिदिम नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै बन्दाबन्दीले व्यवसायी व्यवसाय बन्द गर्ने अवस्थामा पुगेकाले उक्त अवधिको भाडा छुट गराउन माग गरेका हुन् । 

बन्दाबन्दीको दुई महिना पूरा हुँदा घरधनीले भाडा माग्ने र नदिए व्यवसाय बन्द गर्न दबाब दिएको उनीहरुको गुनासो छ ।

विशेषत साना तथा मझौला व्यवसायी बन्दाबन्दीको चपेटामा परेकाले बन्दाबन्दीका समयको भाडा छुट गराउन माग गरिएको व्यवसायी सुनिता केरुङले बताइन् । 

“व्यवसायी लकडाउन भन्न पाउनुभएको छैन । घरभाडा नबुझाइ नहुने, बैङ्कको किस्ता पनि तिर्नै पर्ने अवस्था आएको छ”, केरुङले भनिन्, “धेरै व्यवसायी पलायन हुने स्थितिमा पुगेकाले भाडा मात्रै भए पनि छुट गराउन माग गरेका हौँ । 

कतिपय व्यवसायीलाई जीवन निर्वाहमा समस्या सिर्जना हुन थालेको तथा बैंक तथा वित्तीय संस्थाको ऋण र किस्ता बुझाउन असमर्थ हुँदा व्यवसाय छोड्नुपर्ने स्थिति आएको व्यवसायी लक्ष्मण लावतीको भनाइ छ । 

व्यवसायीहरुको ज्ञापनपत्र बुझ्दै फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले व्यवसायीलाई परेको समस्याबारे आफूहरु जानकार रहे पनि सङ्घीय सरकारबाट स्पष्ट नीति नबन्दासम्म स्थानीयस्तरमा ठोस काम गर्न कठिन परेको बताए । 

उनले नगरपालिकाभित्र बन्दाबन्दीका समयको भाडा छुट गराउन आफूले पहल गर्ने बताए । पाँचथर उद्योग वाणिज्य सङ्घका महासचिव नवराज घिमिरे बन्दाबन्दीको प्रभावले कतिपय व्यवसायीले नै व्यवसाय बन्द गरेको बताउँछन् । 

“घर भाडा, बैंकको ऋण र दैनिकी सञ्चालनमा समस्या पर्दा कतिपयले व्यवसाय नै बन्द गर्नुभएको छ”, घिमिरेले भने ।

पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपाल व्यवसायीलाई कर, ब्याजदर र भाडा छुट अत्यावश्यक रहेको बताउँछन् । 

यहाँका व्यवसायीका गुनासा उद्योग वाणिज्य सङ्घका प्रदेश तथा केन्द्रीय समितिमा समेत राखिएको बताउँदै अध्यक्ष नेपालले सङ्घीय सरकारले स्पष्ट नीति बनाइ व्यवसायीलाई सहयोग गर्नुपर्ने बताए । 

बन्दाबन्दीका समयको घरभाडा छुट गराउँदा घरधनीलाई घरबहाल करको दायरामा ल्याउने अवसरसमेत रहेको नेपालको भनाइ छ । 

“अहिलेसम्म व्यवसायीले नै घरधनीको घरबहाल करसमेत तिर्नुपर्ने अवस्था थियो । अब घरधनीलाई घरबहाल करको दायरामा ल्याउन भाडा छुटका लागि कुनै मापदण्ड बनाउनैपर्छ”, उनले भने ।
 
यहाँ धेरै साना तथा मझौला व्यवसायी लकडाउन खुल्नेबित्तिकै व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा छन् । 

धेरैले आफूकहाँ रहेको सामग्री बिक्री गरिसकेका छन् र व्यवसायको चालू पूँजीसमेत दैनिकी चलाउन खर्च गरिसकेका छन् । 

“भाडा छुट दिएर मात्रै पनि पुग्दैन । लकडाउन खुल्नेबित्तिकै व्यवसाय सञ्चालनमा आउँदैनन्”, अध्यक्ष नेपालले भने, “सामान बिक्री भइसक्यो, सङ्कलित रकमसमेत दैनिकीमा खर्च भयो । अब सरकारले चालू पूँजी सस्तो ब्याजदरमा उपलब्ध गराउनुपर्छ ।” 

पाँचथरमा पाँचथर उद्योग वाणिज्य सङ्घ तथा सरकारी निकायमा दर्ता भएका झण्डै तीन हजार व्यवसायी छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि