जेठ ०६, २०८१, आइतबार
               

वडाध्यक्ष फरार, वडा सचिव थुनामा

रासस
जेठ १०, २०७७

ADVERTISEMENT

बर्दघाट–सुस्ता पश्चिमको पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर(किर्ते) गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोही मुद्दाका अर्का प्रतिवादी वडाध्यक्ष ओमप्रकाश गुप्ता भने फरार रहेको जिल्ला अदालतले जनाएको छ ।

विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि दिने क्रममा मूल प्रमाणपत्र र मूल अभिलेख रजिष्ट्ररमा उल्लिखित विवाह मिति केरमेट गरी फरक पारेर प्रतिलिपि जारी गरेको भन्दै उनीहरुविरुद्ध जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरको मुद्दा दायर भएको थियो ।

मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै अदालतले वडा सचिव कहार र रामग्राम–५ की रुक्शाना शेषलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । फरार रहेका वडाध्यक्ष गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

रामग्राम–५ का सुबेदार शेष र रुक्शाना शेषको विवाहदर्ता प्रतिलिपि दिँदा केरमेट गरी मिति फरक पारिएको थियो । रुक्शानाका पति सुवेदारले सरकारी छाप दस्तखत किर्ते गरिदिने कार्यमा संलग्न वडाध्यक्ष गुप्ता, वडा सचिव कहारसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

पतिपत्नी सुबेदार र रुक्शानाबीच विवाद भएपछि रुक्शानाले जिल्ला अदालतमा अंश नामसारी मुद्दा दिएपछि अनुसन्धान हुँदै जाँदा उक्त रहस्य खुलेको थियो । वडाध्यक्ष गाउँमा खुला घुमिरहेकाले तत्काल पक्राउ गरी आवश्यक कारवाही गर्नुपर्ने पीडित पक्षको माग छ । 

बन्दाबन्दी र कोरोना सङ्क्रमणको जोखिमका कारण पक्राउ गर्न नसकिएको प्रहरी चौकी गेरमीका प्रमुख नारायण लुइँटेलले जानकारी दिनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि