जेठ ०६, २०८१, आइतबार
               

कुहिएको चामल आपूर्ति गर्नेलाई कारबाही

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

काठमाडाै‌ं । कुहिएको चामल आपूर्ति गर्नेलाई कारबाही गरिएको छ ।

धनगढी उपमहानगरपालिकाले राहतमा कुहिएको चामल आपूर्ति गर्नेलाई कालोसूचीमा राखेर कानुनी कारवाही गर्ने निर्णय गरेको हो । 

खरिद गरेर वितरणका लागि वडाहरूमा पठाएको चामल कुहिएको र किरा परेको भेटिएपछि आपूर्तिकर्ता धनगढीको ठाकुर ट्रेड लिङ्कलाई कालोसूचीमा राखेर कानुनी कारबाही गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ । 

उपमहानगरपालिकाले रु २ करोड ६१ लाखमा ३ हजार ३०० क्विन्टल चामल, आठ सय क्विन्टल दाललगायत खाद्यान्न सामग्री खरिदका लागि ठाकुर ट्रेड लिङ्कसँग ठेक्का सम्झौता गरेको थियो । 

ठाकुर ट्रेड लिङ्कले पछिल्लो पटक उपलब्ध गराएको चामल कुहिएको र किरा परेको भेटिएपछि सम्झौता रद्द गरेर कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको उपमहानगरपालिका प्रवक्ता सन्तोष मुडभरीले जानकारी दिए । 

उनले कुहिएको तथा किरा परेको राहत चामलबारे छानबिन गर्न उपमहानगरपालिकाले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा नगर कार्यपालिकाको बैठकले आपूर्तिकर्ता ठाकुर ट्रेड लिङ्कमाथि कानुनी कारबाही गर्ने निर्णय गरेको बताए । 

दोस्रो चरणमा वितरण गरेको राहत चामलबारे जनस्तरबाट व्यापक गुनासो आएपछि उपमहानगरपालिकाले वडा नं १८ का अध्यक्ष मुरारी अधिकारीको संयोजकत्व पाँच सदस्यीय छानबिन समितिसमेत गठन गरेको थियो । 

उपमहानगर कार्यपालिकाको मङ्गलबार बसेको बैठकमा समितिले आपूर्तिकर्ता ठाकुर ट्रेड लिङ्कबाट गलत कार्य भएको ठहरसहित आफ्नो प्रतिवेदन पेश गरेको थियो । समितिको प्रतिवेदनका आधारमा बैठकले ठाकुर ट्रेड लिङ्कलाई सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ को (ग) बमोजिम कालोसूचीमा राख्नुपर्ने आधार र कारण प्रस्ताव गरी आपूर्तिकर्तालाई सुनुवाइको मौका प्रदान गरी कानूनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय भएको प्रवक्ता मुडभरीले जानकारी दिए । 

यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार गुणस्तरहीन वस्तु वा सेवा प्रदान गरेबाफत ठाकुर ट्रेड लिङ्कलाई दुई लाख जरिवाना गरिसकेको छ । 

स्थानीयवासीले कुहिएको चामल दिइएको भन्दै फिर्ता गरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसहितको बजार अनुगमन टोलीले धनगढी उपमहानगरपालिका—४ शिवपुरीस्थित गोदाममा अनुगमन गरिएको थियो । 

अनुगमनका क्रममा गोदाममा समेत कुहिएको र किरा परेको चामल भेटिएपछि आपूर्तिकर्तालाई कारवाही गर्न सिफारिस गरिएको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय महेन्द्रनगरले उपमहानगरपालिकाले आपूर्तिकर्तासँग गरेको सम्झौतालगायत कागजात नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइसकेको छ । उपमहानगरपालिकाले वडा नं १, २, ४, ५ र १२ मा राहत चामल वितरण गर्दा कुहिएको र किरा परेको भेटिएको थियो । 

ठाकुर ट्रेड लिङ्कले उपमहानगरपालिकालाई हालसम्म तीन लाख ३० हजार ७४० किलोग्राम चामल उपलब्ध गराइसकेको छ । त्यसमध्ये २० हजार १० किलोग्राम चामल कुहिएको र किरा परेको भेटिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि