बैशाख २३, २०८१, आइतबार
               

ब्यास गाउँपालिकासम्म पुग्ने बाटो निर्माणको पहल

रासस
जेठ ०७, २०७७

ADVERTISEMENT

दार्चुला ।  सुदूरपश्चिम प्रदेश सरकारले दार्चुला जिल्ला, ब्यास गाउँपालिकाको टिङ्करसम्म नेपाली भूमि भएर पुगिने घोडेटो बाटो निर्माणका लागि स्थानीय तहलाई ३० लाख उपलब्ध गराउने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले सशर्त अनुदानतर्फको उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए । ब्यास गाउँपालिकाको छाङ्ग्रु, टिङ्करलगायतका गाउँसम्म जान नेपालीले भारतको भूमि धार्चुला, सीतापुर हुँदै पुग्नुपर्ने अवस्था रहेको छ । 

पछिल्लो पटक कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण भारतको धार्चुलालगायतका ठाउँमा बाटो बन्द भएकाले ब्यास गाउँपालिका क्षेत्रका नेपाली सदरमुकाम खलङ्गामा नै रोकिनुपरेको स्थानीय नरेन्द्रसिंह कार्कीले बताए । सो क्षेत्रमा नेपाली गाउँ बस्ती भएर आवागमन गर्ने घोडेटो बाटो नेपाल सरकारको सहकार्यमा निर्माण गर्ने निर्णय प्रदेश सरकारले गएको कात्तिक महिनामा नै गरेको थियो ।

भारतले पछिल्लो पटक दार्चुलाको नेपाली भूमि हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण थालेपछि यसको सर्वत्र विरोध भइरहेको छ । 

मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम प्रदेशसभाको छैटौँ अधिवेशन(बजेट अधिवेशन) यही जेठ १३ गते दिउँसो २ बजे आह्वान गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।  यसैगरी प्रदेशको कानून सुधार तथा सुझाव समितिको कार्यविधि २०७६ लाई पनि बैठकले स्वीकृत गरेको प्रवक्ता शाहले जानकारी दिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि