असोज ०६, २०८१, आइतबार
               

सुरक्षाकर्मीलाई कोरोना, चारै वटा सुरक्षा निकायले बढाए सतर्कता
जवानदेखि अधिकृतसम्म सङ्क्रमित

नेपाल फ्ल्यास
जेठ ०४, २०७७

ADVERTISEMENT

कार्यस्थलमा खटिएका सुरक्षाकर्मीलाई सङ्क्रमण बढेपछि चारै वटा सुरक्षा निकायले सतर्कता बढाएका छन् । कोरोना नियन्त्रणमा अग्रमोर्चामा खटिएका सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढ्न थालेपछि उच्च सतर्कता अपनाइएको हो ।

सामूहिक रूपमा ब्यारेकमा बस्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी पनि कोरोनाको उच्च जोखिममा छन् । अझ ब्यारेकमा एउटा व्यक्तिमा मात्रै कोरोना देखिएको अवस्थामा त्यसले भयावह रूप लिन सक्ने जोखिम हुन्छ । अर्कोतर्फ एकै ठाउँमा ठुलो सङ्ख्यामा खटिने, एकै मेसमा खाना खाने,  एउटै गाडी चढ्ने भएकाले पनि सुरक्षा निकायमा सङ्क्रमण बढ्ने जोखिम हुन्छ ।

अझ सबै सुरक्षा निकायमा पर्याप्त मास्क, पन्जा, स्यानिटाइजरलगायतका सामाग्री समेतको अभाव  छ । जसकारण सुरक्षाकर्मीहरुमा सक्रमणको उच्च जोखिम छ । त्यसैको उनीहरूले पूर्वसावधानीस्वरुप सुरक्षा निकायले आफ्नो तयारी तीव्र पारेका हुन् ।

जवानदेखि अधिकृतसम्म सङ्क्रमित 

बिदाबाट फर्केकाहरूलाई सेल्फ क्वारेनटाइनमा राख्नेदेखि फिल्डमा खटिँदा उच्च सतर्कता अपनाउन थालिएको छ । अहिलेसम्म विभिन्न निकायका नौ जना सुरक्षाकर्मी कोरोना भाइरसबाट सङ्क्रमित छन् । आइतबार साँझसम्मको तथ्यांकअनुसार कोरोना सङ्क्रमित २९५ जनामध्ये ९ जना सुरक्षाकर्मी रहेका हुन् । 

सङ्क्रमित हुनेहरू सशस्त्र प्रहरी बलका तीन जना, नेपाल प्रहरीका तीन जना र नेपाल सेनाका दुई र राष्ट्रिय अनुसन्धान विभागका एक जना छन् । शनिबर मात्रै तीन जना सुरक्षाकर्मीमा कोरोना भाइरस देखिएको थियो । जसमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक प्रहरी जवान, नेपाली सेनाको मध्यपृतनामा कार्यरत सेनाका एक उच्च अधिकारी छन् । सोही ठाउँमा कार्यरत अर्का एक सैनिकमा कोरोना सङ्क्रमण देखिएको छ । 

सेल्फ क्वारेनटाइनदेखि उच्च सतर्कता

सुरक्षाकर्मीमा जवानदेखि, उच्च अधिकृतसम्म सङ्क्रमित भएको पाइएको छ । विशेषगरी भारतसँगको सीमा नाका, संक्रमित क्षेत्र, सङ्क्रमित व्यक्तिको सम्बन्धमा आवश्यक सूचना सकंलन, बन्दाबन्दी कार्यान्वयन र उपत्यका प्रवेश नाकामा खटिएका सुरक्षाकर्मीहरू बढी जोखिममा देखिन्छन् ।

जोखिम बढेपछि नेपाल प्रहरीले फिल्डमा खटिनेहरूको परीक्षण बढाउने तयारी थालेको प्रवक्ता डिआइजी नीरज शाहीले बताए ।

‘बिदाबाट फर्कनेलाई १४ दिन अनिवार्य क्वारेनटाइनमा राखेर परीक्षण गरेर मात्र डिउटीमा खटाउन थालेका छौँ, जनसम्पर्कमा प्रत्यक्ष जानेहरूलाई सम्भव भएसम्म पिपिईलगायत स्वास्थ्य सामग्रीको प्रयोगमा जाड दिएका छौँ,’ उनले भने । स्वास्थ्य सुरक्षा सावधानीको विषयमा नियमित रूपमा कार्यालय प्रमुखले बिफ्रिङ गर्न थालेको समेत उनले बताए ।

सीमामा बढी जोखिम 

चार वटै सुरक्षा निकायमध्ये तुलनात्मक रूपमा सशस्त्र प्रहरीलाई कोरोना सङ्क्रमणको जोखिम देखिएको छ । भारतसँगको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको टोली खटिएको छ । जहाँ भारतबाट आउनेहरूलाई नियन्त्रण गर्नुपर्ने अवस्था छ । अहिले पछिल्लो समय कोरोना सङ्क्रमण देखिएकाहरू भारतबाटै आएका हुन् ।

सङ्क्रमण दर उच्च भएको ठाउँमा आएकाहरूसँग रहनुपर्ने भएकाले सशस्त्र प्रहरीलाई बढी जोखिम देखिएको प्रवक्ता डिआइजी प्रविणकुमार श्रेष्ठ बताउँछन् । उनले भने ‘कोरोना रोकथामको मुख्य अस्त्र मानिएको सामाजिक दुरीलाई सबैले कायम गरेर काम गर्ने मापदण्ड त छ तर व्यवहारमा कति लागू हुन सकेको छैन, जोखिम भएकाले सभव भएसम्म पिपिई प्रयोग बढाइएको छ ।’

ट्राफिकलाई पिपिई

लकडाउनमा गुड्ने सवारी साधन चेकजाँचमा कडाइ गरिएको छ । सवारी साधन चेकको लागि नाकादेखि सडकका चोकचोकमा जनपथ प्रहरीसँगै ट्राफिक खटिएका छन् । बटुवाहरू र सवारी चालकसँग प्रत्यक्ष सम्पर्कमा जानुपर्ने भएकाले उपत्यकामा ट्राफिक प्रहरी पिपिई लगाएर चेकजाँचमा खटाइएको छ ।

सडकमा हिँडडुल र ढुवानी गर्ने चालकमा समेत कोरोनाको सङ्क्रमण भएको हुनसक्ने भएकाले ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षाका लागि सुरक्षा उपकरणको प्रयोग गर्न थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए । उनले भने– ‘कार्यक्षेत्रमा खटिँदा दुरी कायम गर्न भनेका छौँ । हामीसँग उपलब्ध पिपिई प्रयोग गराएका छौँ । उच्च सतर्क भएका काम गर्न निर्देशन दिएका छौँ ।’ 

यस्तै नेपाली सेनाले समेत उच्च सतर्कता अपनाएको छ । मातहतका कर्मचारीलाई प्रधानसेनापति उच्च सतर्कता अपनाउन १० बुँदे निर्देशन दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि