असोज ०६, २०८१, आइतबार
               

सर्लाहीकी संक्रमित युवती काठमाडौंमा बस्थिन्

नेपाल फ्ल्यास
जेठ ०३, २०७७

ADVERTISEMENT

कोरोना संक्रमण पुष्टि भएकी सर्लाहीकी १८ वर्षीया युवतीको बसोवास काठमाडौंमै रहेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान सार्वजनिक गरेको कोरोना संक्रमित ६ जनाको सूचीमा सर्लाहीको रामनगर गाउँपालिका–४ ठेगाना भएकी १८ वर्षीया ती युवती काठमाडौंमा बस्ने  गर्थिन्। 

उनी १२ दिनअघि मात्रै सर्लाहीबाट मोटरसाइकलमा काठमाडौं गएको खुलेको छ।  परिवारसहित काठमाडौंमा बस्दै आएकी युवती कलेज बन्द भएपछि दुई बहिनी र एक भाइसहित ७ चैतमा सर्लाही आएकी थिइन्। कलेजले इन्टरनेटमार्फत् पढाई सुरु गरेको खबर गरेपछि उनी मोटरसाइकलमा २२ वैशाखमा काठमाडौं गएकी थिइन्।

काठमाडौं पुगेपछि उनी आफै‌ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुगेर कोरोना परीक्षणको लागि थ्रोट स्वाब दिएको उनका बुवाले बताए। स्वाब दिएपछि स्वास्थ्यकर्मीले घरमै होम क्वारेनटाइनमा बस्न भनेपछि उनी घर गएकी थिइन्। 

आज सार्वजनिक भएका संक्रमितको रिपोर्ट सम्बन्धित व्यक्तिले आइतबार दिउँसो ३ बजेमात्र पाउने भएकाले नआत्तिकन बस्न प्रयोगशालाका स्वास्थ्यकर्मीले आग्रह गरेका संक्रमित युवतीका बुवाले बताए। रामनगर गाउँपालिकाका अध्यक्ष बर्माले संक्रमित युवतीका बारेमा थप बुझ्ने प्रयास भइरहेको जानकारी दिए।

आज संक्रमण पुष्टि भएकी युवतीसहित सर्लाहीमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ।


कस्तो लाग्यो ?

यो पनि