एक साताको अवधिमा काठमाडौँको नागढुंगा नाकाबाट झन्डै २४ हजार मानिस भित्रिएपछि चेकजाँच कडा बनाइएको छ । कतिपय सवारी साधनमा र कतिपय लुकिछिपी समेत उपत्यका छिर्ने क्रम बढेपछि चेकजाँच कडा बनाइएको हो । पछिल्लो समय सरकारले सबै प्रकारका पास रद्द गरेको छ । साथै एक जिल्लाबाट अर्को जिल्ला जान समेत रोक लगाएको छ ।
सडकबाट सवारी साधनमा सर्वसाधारणलाई भित्रिन दिइएको छैन । प्रहरीको तथ्यांकअनुसार उपत्यका प्रवेश गर्ने नाका नागढुंगाबाट अहिले दैनिक सयभन्दा बढी सवारी साधन उतै फर्काइएको छ । सडकबाट पैदल काठमाडौँ आउने मानिसहरूलाई समेत सुरक्षाकर्मीले फर्काइरहेका छन् ।
यसरी सडकबाट समेत पैदल आउन रोक लाइएपछि सर्वसााधरणहरु चोर बाटो प्रयोग गर्दै उपत्यका छिरिरहेका छन् ।
नागढुंगाको तल वाणभञ्याज र खत्रीपौवाबाट दैनीक सयौँ मानीस उकालो लाग्दै काठमाडौँ छिरेपछि प्रहरीले चकेजाँच कडा बनाएको छ । गोरेटो बाटोमा समेत प्रहरीले सर्वसाधारण रोकेपछि झाडी तथा खोल्साबाट लुकिछिपी मानिसहरू काठमाडौँ भित्रिरहेका छन् ।
यता मकवानपुरको चित्लाङलालबाट थानकोटको नयाँ बाटो भएर समेत सर्वसाधारण उपत्यका प्रवेश गरिरहेका स्थानीय सामाजिक अभियन्ता उत्तम कार्की बताउँछन् । ‘सडकमा पैदल हिँडेर आउनेहरूलाई प्रहरीले रोकेपछि, उनीहरू फर्किएर केही पर जाने गरेका छन्, पुन अर्को गौँडा, झाडी, खोलाबाट लुकेर काठमाडौँ भित्रिरहेका भेटिन्छन्,’ उनले भने ।
नुवाकोटबाट काठमाडौँ जान आउनेहरू गल्छीदेखि हिँडेर नागढुङगाभन्दा ८ सय मिटर तल देउराली डाँडामा निस्किने समेत गरेका छन् । त्यो डाँडा हुँदै २४सै घण्टा मान्छे काठमाडौँ भित्रिएको स्थानीय बताउँछन् ।
उपत्यका बाहिरको जिल्ला प्रशासनमा पहुँच नहुनेहरू ट्रक, एम्बुलेन्स, निजी गाडीमा कोचिएर काठमाडौँको नाका नजिकैसम्म आउँछन् । गाडीले झारेपछि र प्रहरीले ओरालेपछि जङ्गलको बाटो हुँदै लुकेर काठमाडौँ प्रवेश गर्छन् ।
सडकबाट आउने सर्वसाधारणलाई फकाईएपछि उनीहरू सुरक्षाकर्मीको आँखा छल्दै झाडी तथा खोल्साबाट समेत छिर्न थालेपछि त्यहाँसमेत प्रहरी परिचालन गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए । उनले भने ‘सडकबाट अहिले सर्वसाधारण हिँड्ने क्रम ठप्पै छ । केही लुकीछिपी आइरहेका छन् भन्ने सूचनाका आधारमा हामीले गोरेटो बाटोलगायत झाडी खोल्सामा समेत प्रहरी खटाएका छौँ ।’
मङ्गलवार मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काठमाडौँमा पनि लकडाउन छ र ?’ भन्दै कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय संयन्त्र समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई हकारेका थिए । बल्ल त्यसपछि काठमाडौँमा लकडाउन कडाइ गर्न सुरक्षा निकाय तातेको हो । लगतै गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी प्रमुख आइजिपी ठाकुरप्रसाद ज्ञवाली, उपत्यका प्रहरी प्रमुख डिआइजी विश्वराज पोखरेल, काठमाडौँ प्रहरी प्रमुख श्याम ज्ञवाली लगायतलगायतले नागढुंगा नाकाको निरीक्षण पनि गरेका थिए । तर, त्यही दिन थानकोट, फर्पिङ र जगाती नाकाबाट मात्र पाँच हजार बढी सर्वसाधारण उपत्यका भित्रिएको रिपोर्ट गृह मन्त्रालयसम्म पुगेको छ ।
सवारी पासबाटै काठमाडौँ भित्रियो कोरोना
काठमाडौँमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकी काठमाडौँ मच्छेगाउँकी महिला सोमबार मात्र निजी सवारीसाधनमार्फत काठमाडौँ प्रवेश गरेकी थिइन् । उनी कञ्चनपुरबाट फर्किएकी थिइन् । उता भक्तपुरकी २५ वर्षीय कोरोना सङ्क्रमित युवती पनि सोमबारै सुनसरीको रामधुनी नगरपालिका, झुम्काबाट फर्किएकी थिइन् । उनी पनि सवारी पास लिएर फर्किएकी हुन् ।
बिहीबार महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार गर्न आएकी एक बालिका समेत उपत्यका बाहिर आएकी हुन् । उता कालीमाटी तरकारी बजारका ३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । उनीहरूलाई तराईका जिल्लाबाट तरकारी ल्याउँदा कोरोना सङ्क्रमण भएको अनुमान गरिएको छ । यसरी पास बनाएर वा लुकिछिपी काठमाडौँ उपत्यका प्रवेश गरेका अरूमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
पास लिएका सवारबिाटै कोरोना भित्रिएपछि नाकामा कडाइ गरिएको प्रहरीले जनाएको छ । प्रहरीको तथ्यांकअनुसा उपत्यका प्रवेश गर्ने नाका नागढुंगाबाट अहिले दैनीक सयभन्दा बढी सवारी साधन उतै फर्काएको छ । ‘ट्याङ्कर र खाद्यान्न, निर्माण सेवालगायतका ट्रकले पनि मान्छे बोकेपछि फर्काइरहेका छौँ,’ महानगरीय प्रहरी वृत्त, नागढुंगाका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले भने ।
पछिल्लो एक सातामा ५ हजारभन्दा बढी मालवाहक र ६ हजार ५ सय ४९ यात्रुवाहक सवारीसाधन उपत्यका भित्रिएको सरकारी तथ्याङ्क छ । यही अवधिमा २३ हजार पाँच सय ७२ जना सर्वसाधारण उपत्यका छिरेका छन् ।
चार हजार छ सय १४ मालवाहक र पाँच हजार तीन सय १२ यात्रुवाहक सवारीसाधनमा १४ हजार नौ सय ३१ सर्वसाधारण उपत्यकाबाट बाहिरिएका छन् ।