बैशाख २१, २०८१, शुक्रबार
               

माघमा बेच्नुपर्ने उखु अझै बिकेन

नेपाल फ्ल्यास
बैशाख ३०, २०७७

ADVERTISEMENT

दाङको घोराही उपमहानगरपालिका –१७ गैरागाउँका उखु किसान डम्मर बुढा निकै चिन्तित छन् । कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरेको बन्दाबन्दीका कारण उखु बिक्री नभएपछि बुढालाई तनाव भएको हाे । 

गत माघको अन्तिम सातादेखि बिक्रीका लागि तयार भएको उखु अहिलेसम्म १५ प्रतिशतसम्म पनि बिक्री नभएको उनले बताए। उनले रोल्पाबाट गैरागाउँमा आएर पाँच वर्षदेखि सालाभेना गेमी उखु फार्मबाट जुस बिक्री गर्दै आएका छन् । “आफ्नै फार्मबाट जुस बनाएर बिक्री गरेको थिएँ,  जिल्लाका अन्य बजारबाट पनि जुसका लागि उखु लिन व्यापारीहरु आउँथे तर अहिले व्यापारै छैन” , बुढाले भने।

यस वर्ष उखु सुक्ने बेला भइसक्यो तर बिक्री भएको छैन । चिनी मिलमा पठाउँदा एक किलोको रु पाँचका दरले पुर्‍याइदिनुपर्ने भएकाले झनै घाटा हुने उनको गुनासो छ । “अब लकडाउन खुला होला र बिक्री गर्न पाइएला भनेको संक्रमण बढिराछ, यस वर्ष जग्गाको भाडा पनि कसरी तिर्ने भन्ने पो चिन्ता भयो”, बुढाले भने। 

वार्षिक ६० हजार बिघाको दरले आठ बिघा जमीन भाडामा लिएर उनले खेती गर्दै आएका छन् । गत वर्ष महिनामा दैनिक रु आठदेखि दश हजारसम्मको रस बिक्री गरेका बुढाको अहिले दिनमा मुश्किलले एक हजार मात्रै कारोवार हुने गरेको छ । 

डम्मरजस्तै रुकुमबाट गैरागाउँमा आएर उखुखेती गर्दै आएका मनराज बाँठाको पनि अवस्था उस्तै छ । विसं २०७२ देखि उखुखेती गरेर बसेका बाँठाको ६ बिघा जमीनमा उखु बिक्रीका लागि तयार भए पनि बन्दाबन्दीले खेतमै सुक्न थालेको छ ।   प्रतिबिघा वार्षिक  ६० हजार जमीनको भाडा तिर्नुपर्छ । घोराही, नारायणपुर, तुलसीपुर, लमही र भालुबाङका जुस सेन्टरका व्यापारी उहाँका ग्राहक भए पनि बन्दाबन्दीले उखु नै बिक्री नभएको बाँठाको भनाइ छ । 

दैनिक बिक्री गर्दा पनि सबै सकिन चार महिना लाग्ने उक्त ठाउँको उखु अहिलेसम्म १० प्रतिशत मात्र बिक्री भएको छ । “बिक्रीको सिजनमा दैनिक १० हजारको बिक्री हुन्थ्यो तर अहिले जग्गाको भाडा कसरी तिर्ने हो थाहा छैन”, बाँठाले भने। लकडाउनकै समयमा पनि दिनमा १५/२० जना रस खानका लागि आउने गरेको उनले बताए । 

घोराही बजारको नजीकै भएका कारण जुस  पिउनका लागि साँझ र बिहान भीडभाड हुने गैरागाउँ अहिले सुनसान देखिन्छ । सात  किसानले ५० बिघामा लगाएको उखु फागुन महिनादेखि बिक्रीका लागि तयार भए पनि बन्दाबन्दीका कारण खेतमै सुक्न थालेको छ । किसानले उखु बिक्री नहुँदा भाडा तिर्न समस्या भएकाले स्थानीय सरकारसँग सहुलियत दिन माग गरेका छन् ।   


कस्तो लाग्यो ?

यो पनि