अछामकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्जस्थित कोहलपुर मेडिकल अस्पताल भर्ना गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट रामारोशन गाउँपालिका, भटाकाटियाकी २४ वर्षीया देउमा साउदलाई अत्यधिक रक्तश्राव भएपछि उद्धार गरी उक्त अस्पताल भर्ना गरिएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले खबर गरेलगत्तै महिलालाई निःशुल्क हेलिकप्टरको व्यवस्था गरिएको थियो । ती महिला २५ दिनअघि भटाकाटिया स्वास्थ्य चौकीमा सुत्केरी भएकी र पेटको दुखाई बढेपछि आज बयलपाटा अस्पताल पुर्याइएको थियो ।
उपचारका क्रममा सुत्केरीको पेटमा अत्यधिक रक्तश्राव भएको पाइएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएकाले कोहलपुर मेडिकल अस्पतालमा पठाइएको बयलपाटा अस्पतालका स्वास्थ्य निर्देशक डा विकास गौचनले जानकारी दिए ।
अहिले ती सुत्केरीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनले लकडाउनले मुलुक ठप्प भएका बेलामन्त्री गुरुङको पहलमा ती सुत्केरीको तत्काल हेलिकप्टरमार्फत उद्धार गरी उपचारको व्यवस्था गर्न सकिएको बताए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रमअन्तर्गत ज्यान जोखिममा परेका दुर्गम क्षेत्रका सुत्केरी तथा गर्भवतीको निःशुल्क हवाई उद्धार गर्दै आएको छ । हालसम्म १०१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ प्रमुख अञ्जु ढुङ्गानाले जानकारी दिए ।