असोज ०६, २०८१, आइतबार
               

संक्रमित ९९ जनामध्ये उपचारपछि घर फर्कनेको संख्या २२

नेपाल फ्ल्यास
बैशाख २४, २०७७

ADVERTISEMENT

काठमाडौं । कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि पिसिआर विधिबाट हालसम्म १४ हजार ९६ को स्वास्थ्य परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा र्‍यापिड डाइग्नोस्टिक विधिबाट ५२ हजार ९७० को नमूना परीक्षण गरिएको प्रवक्ता डा विकास देशकोटाले जानकारी दिए । गत २४ घण्टामा ९३१ वटा परीक्षण भएका छन् । तीव्र गतिमा विस्तार भइरहेको कोभिड १९ को आवश्यक सामग्री व्यवस्थापनसहित परीक्षणलाई प्रभावकारी ढङ्गबाट अघि बढाइने मन्त्रालयले जनाएको छ ।

मुलुकमा विभिन्न क्वारेन्टाइनमा रहने व्यक्तिको सङ्ख्या १९ हजार ७३४ छ भने आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या १३६ छ । रेडजोनमा रहनेको सङ्ख्या ३३३ रहेको छ । कोसी अस्पतालमा उपचारमा रहेका ६ जना सङ्क्रमितको परीक्षण नेगेटिभ देखिएकाले उनीहरु अस्पतालबाट डिस्चार्ज भएका डा देवकोटाले जानकारी दिए । कोभिडको उपचारपछि घर फर्कनेको सङ्ख्या हालसम्म २२ पुगेको छ ।

काठमाडौ्का अस्पतालबाट वैशाख ११ गते डिस्चार्ज भएका पुरुषको पुनः नमूना परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै वैशाख १४ गते डिस्चार्ज भएका रौतहटका १९ वर्षीय र पर्साका ४४ वर्षीय पुरुषको पनि नमूना परीक्षण पोजेटिभ आएकाले नारायणी अस्पतालमा भर्ना गरिएको छ ।

वीरगञ्जबाट पठाइएको नमूना परीक्षणमा थप १७ जनाको नतिजा पोजेटिभ आएको छ । पछिल्लो नतिजासँगै हाल देशमा कोभिड १९ बाट सङ्क्रमितको सङ्ख्या ९९ पुगेको छ । उनीहरू सबैको स्वास्थ्यस्थिति सामान्य रहेको डा देवकोटाले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि