असोज ०६, २०८१, आइतबार
               

थर्मल गनले तापक्रम जाँचेर घर फिर्ता

रासस
बैशाख २४, २०७७

ADVERTISEMENT

लकडाउनका समयमा भारतलगायत विदेशबाट आई क्वारेन्टाइनमा रहेकाहरुलाई थर्मल गनबाट जाँचेका भरमा घर पठाइएको छ । जिल्लामा सोमबारदेखि किट सकिएपछि थर्मल गनले तापक्रम जाँच गरी ११२ जनालाई मङ्गलबार घर पठाइएको हो । 

जिल्लाभरबाट १ सय ३७ जनालाई पन्ध्र दिनको क्वारेन्टाइन बसाइ पूरा गरी घर फिर्ता गर्नुपर्ने थियो । किटको अभावका कारण केही स्थानीय तहले क्वारेन्टाइनमै राख्ने र केही स्थानीय तहले थर्मल गनका भरमा घर फिर्ता गरेका हुन् ।

जिल्लाभरबाट १ सय १६ जना फिर्ता गरिएकामा चारजनाको मात्रै आरडिटी गरिएको र १ सय १२ जनालाई थर्मल गनले तापक्रम परीक्षण गरी घर फिर्ता गराइएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका विपद् व्यवस्थापन फोकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिए। 

“सामान्य लक्षणहरू पनि नदेखिएका कारण सामान्य परीक्षणबाटै घर पठाइएका छाँै”, श्रेष्ठले भन्नुभयो, “एक हप्तासम्म परिवार, समुदाय, स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानी रहन्छ ।” उहाँका अनुसार होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने शर्तमा मञ्जुर भएपछि मात्रै क्वारेन्टाइनबाट पठाउने गरिएको छ । 

किटका अभावमा थर्मल गनले स्वास्थ्य जाँच गरी स्वर्गद्वारी नगरपालिकाले ७७, गौमुखी गाउँपालिकाले १८ र  सरुमारानी गाउँपालिकाले १७ जना घर पठाएका छन् । क्वारेन्टाइनमा पन्ध्र दिनको बसाइ पूरा गरेका २१ जना भने फर्किन पाएका छैनन् ।

प्युठान नगरपालिकामा रहेका पाँच, नौबिहनी गाउँपालिका दुई, माण्डवी गाउँपालिकाका १० र मल्लरानी गाउँपालिकामा चारजनालाई एक हप्ताभित्र किट आउने आशामा क्वारेन्टाइनमै राखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले जानकारी दिए । 

जिल्लामा रहेका क्वारेन्टाइनमा मंगलबारसम्म ९ सय ९५  छन् । तीमध्ये बुधबार ४५ र बिहीबार १ सय ५३ जनाको चौध दिन बसाइ पूरा गरी पन्ध्र दिन पूरा हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि