असोज ०६, २०८१, आइतबार
               

किट अभावले पिसिआर मेसिन सञ्चालनमा आएन

रासस
बैशाख २१, २०७७

ADVERTISEMENT

किट अभावका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जडान गरिएको पिसिआर मेसिन सञ्चालनमा आउन सकेको छैन ।

पिसिआर मेसिन जडान गरिए पनि किट अभावले सञ्चालन आउन नसकेको प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ एवं अस्पताल निर्देशक डा. मङ्गल रावलले राससलाई जानकारी दिए । उनका अनुसार गएको मङ्गलबार प्रतिष्ठानले कोरोना भाइरसको परीक्षणका लागि पिसिआर मेसिन जडान गरेको थियो ।

अस्पताल निर्देशक डा रावलले भने, “किट त अहिले काठमाडौँमा पनि अभाव छ । यद्यपि प्रतिष्ठानका लागि आजसम्म आइपुग्ने भन्ने छ ।” उक्त मेसिन सञ्चालनका लागि जनशक्ति सबै तयार रहेको भन्दै उनले किट आउनेबित्तिकै परीक्षण सुरु गर्ने जनाए । उनका अनुसार पिसिआर मेसिन ठूलो क्षमताको भएकोले यसले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्नेछ । 
    
प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले प्रतिष्ठानका पूर्व उपकूलपति डा पारसकुमार आचार्यको सहयोगमा सुर्खेतमा २०० किट आइपुगेको र त्यो लिनका लागि आजै प्रतिष्ठानको जनशक्ति सुर्खेत हिँडेको बताए ।

रजिष्ट्रार काफ्लेले प्रतिष्ठानले रु २७ लाखमा पिसिआर मेसिन खरिद गरेको बताए । उनका अनुसार मेसिन सञ्चालन नहुँदा अहिले जुम्लामा कोरोना शङ्कास्पद व्यक्तिहरूको सुरुमा आरडिटी परीक्षण गर्ने र थप शङ्कास्पद भएमा पिसिआर जाँचका लागि सुर्खेत पठाउने गरिएको छ । किट आउनेबित्तिकै परीक्षण कार्य तीव्र बनाउने प्रतिष्ठानले जनाएको छ ।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि