असोज ०६, २०८१, आइतबार
               

पासमा आफैँ मिति सच्याउँदै, गाडी दौडाउँदै

रासस
बैशाख २०, २०७७

ADVERTISEMENT

मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम रोक्न सुरु गरिएको बन्दाबन्दी ‘लकडाउन’ मा प्रयोग हुने सवारी साधनलाई दिइने पासको दुरुपयोग हुनेक्रम अझै रोकिएको छैन भने त्यसको उल्लङ्घन गर्ने मानिसको सङ्ख्यामा समेत कमि हुन सकेको छैन ।

    झुठो विवरण पेश गरेर सवारी पास लिने तथा पुरानै पासलाई मिति सच्याएर प्रयोग गर्नेक्रम जारी छ । कतिपयले आफन्त बितेको भनेर पासको दुरुपयोग गरी मानिस चढाएको समेत फेला परेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अहिले पनि दैनिकजसो नै पासको दुरुपयोग हुनेक्रम जारी छ । 

कोभिड–१९ को सङ्क्रमण दैनिकरुपमा देखिँदै आएकाले जोखिम कायमै रहेको भन्दै वैशाख १५ पछि लकडाउनलाई सरकारले थप कडाइ गर्न प्रहरीलाई स्पष्ट निर्देशन दिएको थियो । 

सोही निर्देशनका आधारमा लकडाउनमा चलाउने सवारी सञ्चालनको निगरानीमा कडाइ गरिएको र अनावश्यकरुपमा बाहिर निस्किने व्यक्तिविरुद्धको कारवाहीलाई समेत तीव्र पारिएको नेपाल प्रहरीका प्रवक्ता नीरजबहादुर शाहीले जानकारी दिए। उनका अनुसार अहिले पनि मुलुकभर लकडाउन उल्लङ्घन गर्ने दैनिक तीन हजार मानिसलाई कारवाही गर्ने गरिएको छ । 

महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकामा मात्रै लकडाउन उल्लङ्घन गर्ने ८१ हजारलाई कारवाही गरिएको जानकारी दिए । यो बीचमा पासको दुरुपयोग गर्ने र पुरानो पास प्रयोग गर्ने झण्डै दुई हजार २०० गाडीलाई समेत कारवाही गरिएको छ । 

मुलुकभर लकडाउन उल्लङ्घन गर्ने एक लाख १० हजारभन्दा बढीलाई कारवाही गरिएको छ । यो अवधिमा उपत्यकाका तीन जिल्लामा मात्रै दुई हजार २०० सवारी पास प्रहरीले खिचेको छ । 

कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउनको आदेश जारी गरेको थियो । उक्त आदेश वैशाख २५ सम्म जारी रहनेछ ।  

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि