असोज ०६, २०८१, आइतबार
               

रगत अभावपछि रक्तदान

नेपाल फ्ल्यास
बैशाख १९, २०७७

ADVERTISEMENT

तनहुँ । बन्दाबन्दीका कारण जिल्लामा रक्तदानका कार्यक्रम हुन छाडेपछि रगतको अभाव भएको छ । कोभिड–१९ को त्रासका कारण रक्तदान कार्यक्रम नभएपछि दमौली अस्पतालमा रहेको रक्त सञ्चार केन्द्रमा रगत अभाव भएको हो ।

 विभिन्न सङ्घसंस्थाले वार्षिक कार्यतालिका बनाएर रक्तदान कार्यक्रम सञ्चालन गर्दै आए पनि यतिबेला कोरोना भाइरसको त्रासले रक्तदानका कार्यक्रम शून्य छन् । रक्तदानका कार्यक्रम नहुँदा दमौली अस्पतालमा डायलाइसिस गराउने र अति आवश्यक बिरामीका लागि रगतको अभाव भएको अस्पतालले जनाएको छ । 

दमौली अस्पतालमा रहेको डायलाइसिस केन्द्रका बिरामीलाई डायलाइसिस गर्ने क्रममा रगत आवश्यक पर्ने भए पनि रक्तदानका कार्यक्रम हुन छाडेपछि रगत अभाव हुनेहोकि भन्ने चिन्ता छाएको केन्द्रका कर्मचारी शैलेश पण्डितले बताए ।

सोही अवस्थालाई मध्यनजर गर्दै रगत सङ्कलन गर्ने उद्देश्यसहित प्रोगेसिभ इन्जिनीयरिङ एशोसिएसन नेपाल (पिन) तनहुँले शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटारमा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दमौली रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानबाट ३० युनिट रगत सङ्कलन भएको कार्यक्रम व्यवस्थापक समिति सदस्य जीवन पौडेलले जानकारी दिए ।

यही वैशाख ६ गते दमौलीमा जेसीआई व्यास नगरले पनि रक्तदान कार्यक्रम गरेको थियो । उक्त कार्यक्रमबाट ३० युनिट रगत सङ्कलन भएको थियो । उक्त रगत दमौली रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी भएपछि जिल्लाका विभिन्न ठाउँमा रक्तदानका कार्यक्रम पनि प्रभावित हुँदै आइरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि