असोज ०६, २०८१, आइतबार
               

महोत्तरीमा रहस्यमय मृत्युको घटना रोकिएन, थप दुईको मृत्यु

नेपाल फ्ल्यास
बैशाख १८, २०७७

ADVERTISEMENT

महोत्तरी । मङ्गलबार र बुधबार गरी चार जनाको रहस्यमय मृत्यु भएको महोत्तरीको भंगहा नगरपालिकामा आज थप दुई जनाको मृत्यु भएको छ ।

मङ्गलबार र बुधबार एकपछि अर्को गरी चार जनाको रहस्यमय मृत्यु भइसकेको वडा नं ७ मेघनाथ गोरहन्नामा आज पुनः स्थानीय ४२ वर्षीय सिकेन्द्र सिंह र ५५ वर्षीय सिताई महाराको मृत्यु भएको नगर प्रमुख संजिवकुमार साहले बताए ।

मङ्गलबार र बुधबार स्थानीय ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र ५२ वर्षीय गङ्गारामको मृत्यु भएकामा आज थप दुई जना गरी मृतकको सङ्ख्या छ पुगेको प्रमुख साहले पुष्टि गरे ।

यसैबीच आजै थप दुई जना अति सिकिस्तलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले सो गाउँबाट उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा लगी उनीहरुको उपचार भइरहेको बताए । 

रहस्यमय तरिकाले छ जनाको मृत्यु भइसकेको त्यस गाउँमा उनीहरुको मृत्यु विषाक्त रक्सी सेवनबाट भएको हुनसक्ने वडाध्यक्ष वासुदेव सिंह थारुलगायत स्थानीय बासिन्दाले अडकलबाजी गरिरहेका छन् ।  

प्रहरीले तीन दिनमा सो गाउँबाट ठूलो सङ्ख्यामा रक्सी र रक्सी बनाउनका लागि भण्डारण गरी राखिएको कच्चा पदार्थ नियन्त्रणमा लिए पनि उनीहरुको मृत्यु रक्सी सेवनबाट भएको कुरा स्वीकार गरिरहेको छैन । 

सिकिस्त दुई जनाको स्वास्थ्य जाँच तथा मृतकको शव परीक्षणपछि मात्रै सही कारण बाहिर आउने प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।


कस्तो लाग्यो ?

यो पनि