असोज ०६, २०८१, आइतबार
               

आपूर्ति सहज नहुँदा औषधि अभाव

नेपाल फ्ल्यास
बैशाख १८, २०७७

ADVERTISEMENT

सर्लाही ।  लकडाउनका समयमा आपूर्ति सहज नहुँदा जिल्लामा औषधि अभाव देखिन थालेको छ । सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै रोक नलगाएको भए पनि ढुवानीको असहजताका कारण औषधि अभाव देखिन थालेको औषधि व्यवसायीले बताएका छन् ।

विशेषगरी दम, मधुमेह, उच्चरक्तचाप, थाइराइड र मानसिक समस्या भएका बिरामीले सेवन गर्ने औषधि बजारमा अभाव देखिन थालेको डा घनश्याम सिंहले जानकारी दिए । कोरोनाको सङ्क्रमण फैलिन नदिन सीमानाका सिल गरिएका कारण नेपाली बजारमा नपाएका औषधि भारतबाट समेत ल्याउन नपाएको स्थानीयवासीले गुनासो गरेका छन् ।

सरकारले कोरोना सङ्क्रमण रोक्न लगाएको लकडाउन स्वागतयोग्य रहेको बताउँदै गम्भीर रोगबाट ग्रसित बिरामीको औषधि आपूर्तिका लागि पनि सरकारले कुनै ठोस निर्णय लिनुपर्ने स्थानीयवासीले बताएका छन् ।

नेपालका औषधि उत्पादक कम्पनीले प्रायः आपूर्ति सहज हुने ठूला सहरमा मात्र बढी जोड दिएका कारण साना शहरबजारमा औषधि अभाव देखिने अवस्था आएको व्यवसायीको गुनासो छ । औषधि व्यवसायीले लकडाउनका कारण आपूर्तिमा आएको असहजता, औषधि कम्पनीबाट नगद कारोवारको अनिवार्य प्रावधान लागू र आवश्यक औषधि बिरामी आफैँ गएर ल्याउनुपर्नेजस्ता कारणले बजारमा औषधिको अभाव देखिन थालेको स्थानीय औषधि व्यवसायीले बताएका छन् । बजारमा औषधि अभाव भएका कारण सामान्य स्वास्थ्य परेका बिरामीको जाँचमा समेत समस्या सुरु भएको चिकित्सक बताउँछन् ।


कस्तो लाग्यो ?

यो पनि