मंसिर ०७, २०८१, शुक्रबार
               

गुणस्तरहिन चामल बिक्री गरेको आरोपमा व्यवसायीविरुद्ध मुद्दा दायर

रासस
बैशाख १६, २०७७

ADVERTISEMENT

नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) स्थित रामग्राम नगरपालिकालाई निम्न गुणस्तरीय चामल बिक्री गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । 

राजेश राइस मिल रामग्राम ६ पोखरापाली र मिल सञ्चालक पटवारी बनियाँविरुद्ध सोमबार जिल्ला अदालत परासीमा मुद्दा दायर गरिएको खाद्य प्रविधि कार्यालयले जनाएको छ  । गत चैत २८ गते नगरपालिकाले राहत सामग्रीमा वितरण गरेको चामल खान योग्य नभएको भन्दै राहत पाएकाहरूले विरोध जनाएका थिए । 

कार्यालयले चामलको नमूना संकलन गरी परीक्षण गर्दा चामल न्यून गुणस्तरको भएको रिपोर्ट दिएको थियो । खाद्य सामग्री उत्पादन र बिक्री वितरणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान  भए पनि  उद्योगसंँग खाद्य सामग्री बिक्री वितरण गर्ने अनुज्ञापत्रसमेत नभएको पाइएकाले मुद्दा दायर गरिएको कार्यालय जनाएको छ । 

खाद्य ऐन २०२३  उल्लंघन गरी निम्न गुणस्तरको खाद्यपदार्थ बिक्री वितरण गरेको कसुरमा उनीमाथि जिल्ला अदालत परासीमा मुद्दा दायर गरिएको छ भने लाइसेन्स नलिई खाद्य सामग्री उत्पादन र बिक्रिवितरण गरेका हकमा  व्यवसायीलाई जिल्ला प्रशासन कार्यालयले जरिवाना गर्न सक्ने छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि