वीरगञ्ज । र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) मा कोरोना पोजेटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ ।
वीरगञ्ज–१० अशोक बाटिकाकी २३ वर्षीया युवतीको मृत्यु भएको हो ।
युवतीमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ ।
आइसोलेसनमा राख्ने तयारी हुँदाहुँदै युवतीको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले जानकारी दिए । डा. उपाध्यायका अनुसार युवती ब्लड क्यान्सरको बिरामी थिइन् ।
युवतीको पारिवारिक एक सदस्यका अनुसार स्वास्थ्यमा समस्या आएपछि गत चैत पाँच गते युवतीलाई चितवनको भरतपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालले युवतीलाई ब्लड क्यान्सर भएको जानकारी दिएको थियो । अस्पतालमा प्रारम्भिक उपचारपछि चैत ९ गते उनलाई डिस्चार्ज गरिएको थियो ।
अहिले युवतीको शव नारायणी अस्पतालमा राखिएको छ ।