सडक डिभिजन कार्यालय दाङअन्तर्गत लकडाउनका समयमा रोकिएका चार योजना निर्माणको काम सुरु भएका छन् । सडक डिभिजन कार्यालय दाङअन्तर्गत सडकका योजनामध्ये अहिले ती योजनाका काम सुरु भएको कार्यालयका सूचना अधिकारी खुम भण्डारीले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही–शिवखोला सडक मर्मतको काम सुरु भएको छ । त्यस्तै, घोराही–लमही सडक खण्डको सिस्ने खोला पुल, घोराही–धारापानी सडकअन्तर्गत बबई नदीमा पुल र घोराही उपमहानगरपालिका वडा नं १७ ढिकपुरको बबई नदीमा पर्ने पुल निर्माणको काम सुरु भएको उनले बताए ।
अहिले बजार बन्द हुँदा निर्माणका लागि आवश्यक सामग्री नपाउनु, मजदुरको सहज उपलब्धता नहुनुजस्ता कारणले काम प्रभावकारी रुपमा अघि बढ्न सक्ने अवस्था भने नभएको उनको भनाइ छ ।
यस्तै, तुलसीपुर उपमहानगरपालिकाले पनि विकास निर्माणका काम अघि बढाउन थालेको छ । त्यसका लागि वडाका सबै कर्मचारीलाई अनिवार्य कार्यालय आउन निर्देशन दिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायले बताए । साथै, पूर्वाधार निर्माणका कार्य अघि बढाउनका लागि सबै उपभोक्ता समितिका अध्यक्षलाई जानकारी गराइएको छ ।
सामाजिक दूरी कायम राखी विकास निर्माणका काम अघि बढाउन थालिएको हो ।