जेठ ०६, २०८१, आइतबार
               

कोरोना रोकथामका लागि सेना तयारी अवस्थामा

रासस
बैशाख १३, २०७७

ADVERTISEMENT

कोभिड–१९ संक्रमणको  नियन्त्रण तथा रोकथाम र उपचारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ । सेनाको  प्रदेश नं ५ मा रहेको  मध्यपश्चिम पृतना हेडक्वार्टर बुटवलले यसको नियन्त्रण तथा रोकथाम र उपचारका लागि क्वारेन्टाइन, आइसोलेसन र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको  हो  ।

मध्यपश्चिम हेडक्वार्टरका प्रमुख उपरथी सीताराम खड्काले प्रदेशका सबै ब्यारेकमा  कुल ४ सय ५३ शय्याको क्वारेन्टाइन, १ सय शय्याको आइसोलेसन वार्ड, हेल्थ डेस्क, ‘रेपिड रेस्पोन्ट’ टिम र ‘पेसेन्ट रिसिभिङ’ टिमलाई तयारी अवस्थामा राखिएको जानकारी दिए ।

प्रदेशको अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा आठ , प्रदेश सीमामा तीन र  जिल्लामा पाँच हेल्थ डेस्क स्थापना गरेको मध्यपश्चिम पृतना हेडक्वाटरको सूचना शाखाले जनाएको छ । सेनाले प्रदेशभरि १ सय २१ आफ्ना स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राखिएको जनाएको छ ।

बन्दाबन्दीको कार्यान्वयन गराउनका लागिसमेत नेपाली सेनाले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसँगको सहकार्यमा नियमित गस्तीलाई तीव्र बनाएको छ । सेनाले प्रदेशका सबै जिल्लामा औसत २० पैदल गस्ती र १ सय १५ मोटर गस्ती गरिरहेको मध्यपश्चिम पृतना हेडक्वार्टरका प्रमुख उपरथी खड्काले जानकारी दिए ।

कोरोना भाइरसको महामारीको अवस्थामा आए थप क्वारेन्टाइन र आइसोलेसन स्थापना गर्ने स्थानको पहिचान तथा सेनाको प्राविधिक टोलीलाई छोटोछरितो उपचारमा खटिने तालिमको व्यवस्थासमेत गरिएको बताइएको छ ।

नेपाली सेनाले सबै प्रदेश र राजधानीमा गरी चार हजार ६ सय २१ शय्याको क्वारेन्टाइन, ५ सय ९२ शय्याको आइसोलेसन वार्ड निर्माण तथा विशेष तालिमप्राप्त प्राविधिक र स्वास्थ्यकर्मी पाँच हजार ३ सय ८ खटाएको सैनिक मुख्यालयले जनाएको छ ।  
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि