तापक्रम मापन गर्ने यन्त्र इन्फ्रारेड थर्मोमिटर कालो बजारी गर्ने नेपालगञ्जको एक औषधि पसललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । ६ हजारमा खरिद गरेको थर्मोमिटरलाई १० हजार रुपैयाँसम्ममा बिक्री गरेको पाइएपछि संयुक्त बजार अनुगमन टोलीले धम्बोझीस्थित लाइफ केयर सर्जिकल औषधि पसललाई कारवाही गरिएको हो ।
लाइफ केयरले ६६ प्रतिशतसम्म मुनाफा लिएर बिक्री गरेको पाइएपछि बुधबार कारवाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्णप्रसाद पौड्यालले जानकारी दिए ।
उनका अनुसार अनुगमन टोलीले उक्त औषधि पसललाई खरिद मूल्यमा अधिकतम २० प्रतिशतभन्दा बढी मुनाफा नलिई बिक्री गर्न र औषधि व्यवस्था विभागले सिफारिस गरेको मूल्यभन्दा बढीमा स्यानिटाइजर बिक्री नगर्न आदेश दिएको छ । समितिले बुधबार नै नेपालगञ्जका अरू तीन औषधि पसलमा पनि अनुगमन गरेको थियो ।
संयुक्त बजार अनुगमन टोलीले यसअघि औषधिमा कालोबजारी गरेका अभियोगमा नेपालगञ्जको हिल्स मेडी सप्लायर्सलाई रु दुई लाख र कमला मेडिसिनलाई रु ५० हजार जरिवाना गरिसकेको छ ।