दाङ । मानवअधिकार प्रतिष्ठान दाङले आज स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टाइन तथा सडक अनुगमन गरेको छ ।
अनुगमनका क्रममा लकडाउनका समयमा पैदल फर्किँदै गरेका यात्रुको अवस्था दयनीय रहेको पाइएको प्रतिष्ठानका जिल्ला अध्यक्ष शालिराम वलीले बताए ।
कोभिड–१९ को संक्रमण फैलिन नदिन गरिएको लकडाउनले गर्दा समस्यामा परेका मजदूर एक ठाउँबाट अर्को ठाउँमा पैदल यात्रा गरिरहेको र तिनलाई ठाउँठाउँमा खाना खाने व्यवस्था गरिए पनि धेरैलाई व्यवस्थापन गर्न बाँकी रहेको प्रतिष्ठानका प्रदेश ५ का संयोजक विनोदकुमार श्रेष्ठले बताए ।
अनुुगमनका क्रममा स्थानीय तहका क्वारेन्टाइनको अवस्था भने सन्तोषजनक रहेको पाइएको छ । जिल्लाका तुलसीपुर, घोराही र गढवाका क्वारेन्टाइन अनुगमन गरिएको थियो ।