काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्पष्टिकरण नसोधिएको बताएको छ ।
मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रघुराम विष्टले डा. पुनलाई स्पष्टिकरण नसोधिएको बताए । मन्त्रालयले डा. पुनलाई पठाइको पत्रमा स्पष्टिकरण सोधिएको भनि प्रकाशन/प्रशारण भएका समाचार सत्य नभएको उनको भनाइ छ । ’अस्पतालको काममा बाधा नपर्नेगरी कोभिड–१९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्याउन उपस्थित हुन’ भनेर पत्राचार गरिएको सहसचिव विष्टले बताए ।
सञ्चारमाध्यममा सत्यतथ्य नबुझी समाचार प्रकाशित गरिएको भन्दै मन्त्रालयको ध्यानाकर्षण भएको सहसचिव विष्टले बताए । सहसचिव विष्टले विना प्रमाण समाचार बनाउने र मन्त्रीको चरित्र हत्या गर्ने काम सञ्चारमाध्यमहरूबाट भएको आरोप लगाए । उनले भने, ‘प्रमुख मेडिकल अधिकृत पुनले समेत आफूले पत्र नपाएको भनि मिडियालाई बताएकाे सन्दर्भमा मिडियाहरुले उनको भनाइनै खण्डन हुने गरी मन्त्रालयले पठाएको पत्रमा उनलाई स्पस्टिकरण सोधेको भनी कपोकल्पित समाचार प्रसारण/प्रकाशन गर्नु खेदपुर्ण छ ।’
मनोगणन्ते हेडलाइनका समाचार बनाएर मन्त्रीको चरित्रहत्या गर्ने र कोभिड—१९ रोकथाम, नियन्त्रण उपचारमा खटिने टिमको ध्यान भंग गरी जनतामा नैरस्यता छर्ने काम भएको सहसचिव विष्टको भनाइ छ ।