असोज ०६, २०८१, आइतबार
               

पैसा छर्ने फरार भाउजु र नन्द जनकपुरबाट पक्राउ

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

जनकपुरधामको महावीर चोकको बाटोमा पैसा छरेर फरार भएका दुई महिलालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन् । उनी दुवै जना नातामा भाउजु र नन्द हुन् । 

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको छ । ती महिलाले शुक्रबार दिउँसो वडा नं ५ महावीर चोकको सडकका विभिन्न ठाँउमा  पाँच रुपैयाँ, १० रुपैयाँ र १०० रुपैयाँका नोट छरेर फरार भएका थिए । स्थानीयले पैसा देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले सिसिटिभी फुटेजका आधारमा अनुसन्धान सुरु गरेको थियो । सिसिटिभी फुटेजमा मुख छोपेका दुई जना महिला देखिएपछि प्रहरीले तिनको खोजी तीव्र पारेको थियो । प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार सिसीटिभी फुटेज झिकाएर शङ्कास्पद देखिएका र स्थानीयले भनेको हुलियाका आधारमा महिलाको खोजी गरिएको थियो । सोहीअनुसार आज करिब २ः३० बजे जानकी नगरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। 


कस्तो लाग्यो ?

यो पनि