बैशाख २५, २०८१, मंगलबार
               

मौवाखोलामा रोकिए घर हिँडेका ३ सय बढी मजदुर

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । कोभिड –१९ को महामारी रोक्न सरकारले गरेको लकडाउनपछि घर हिँडेका मजदुर धादिङ र चितवनको सिमाना मौवाखोलामा रोकिएका छन् । कामका लागि जिल्लाका विभिन्न भागमा आएका मजदुर काम गर्न नपाइने र खानेकुरा सकिएपछि हिँडेर घर जान लागेका थिए ।

घर जान लागेका बेला चितवन प्रहरीले धादिङको सिमाना क्षेत्रमा रोकेको हो । बिहानैदेखि तीन सयभन्दा बढी मजदुर रोकिएको र उनीहरू खानेकुरा नपाएर दिनभर सो क्षेत्रमा भोकभोकै परेको स्थानीयवासी विनोद शाहले जानाकारी दिए । मजदूर रोकिएपछि मौवाखोला बजारबासीले प्रहरीलाई हिँडेर घर जान दिनका लागि आग्रह गरेका थिए । बजारबासीको आग्रहसमेत अस्वीकार गरी प्रहरीले चितवन क्षेत्र प्रवेश गर्न नदिएपछि बजारबासी र मजदुर मिलेर प्रहरीसंँग झडप गरेका थिए ।

घटनाले उग्ररुप लिने भएपछि धादिङका प्रमुख जिल्ला अधिकारी असमान तामाङ र चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईबीच वार्ता भएको छ । वार्तापछि मजदूरलाई खाद्यान्न बोक्ने सवारी साधनमा राखेर घरतर्फ जान दिने सहमति भएको छ । धादिङका विभिन्न इँटा उद्योग, विद्यालय निर्माण र गाउँमा पुनःनिर्माणका लागि आएका मजदुर घरतर्फ जान लागेका थिए ।

एक जिल्लाबाट अर्को जिल्ला जानका लागि अतिआवश्यकीय सवारी साधनसमेत रोकिएपछि प्रमुख जिल्ला अधिकारीहरूले वार्ताका माध्यमबाट समस्या समाधान गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि