जेठ ०४, २०८१, शुक्रबार
               

आरडिटी टेस्टः दिल्लीबाट फर्केका दुई नेपालीमा कोरोना पोजेटिभ

नेपाल फ्ल्यास
बैशाख ०३, २०७७

ADVERTISEMENT

सप्तरी । भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट फर्केका दुई नेपालीको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आएको छ । 

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार राति द्रुत परीक्षण किटबाट कोरोना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएको सिनियर कन्सल्टेन्ट जनरल फिजिसियन डा. रणजित झाले जानकारी दिए ।

तब्लिगी जमातद्वारा आयोजित सभाबाट आएका खडग नगरपालिकाका तीन, सुरुङ्गा नगरपालिका, अग्निसाइर कृष्ण सवरण, विष्णुपुर र तिलाठी कोइलाडी गाउँपालिकाका एक÷एक गरी सात जनाको द्रुत परीक्षण गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. चुमनलाल दासले बताए । 

तीमध्ये खडग नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक÷एक जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
 
उनीहरुले दिल्लीको निजामुद्दीन मरकजमा सहभागी भएर फर्किएको ३२ दिन बितेको बताए पनि स्थानीयवासी भने चैत ११ गते घर फर्किएको बताउँछन् । 

सप्तरी फर्किएका उनीहरु घरमै बसिरहेका थिए । रिपोर्ट पोजिटिभ आएपछि दुई जनालाई राजविराजस्थित अस्पतालको आइसोलेसनमा राखिएको छ । 

अस्पतालले सात जनाकै स्वाब परीक्षणका लागि राति नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको छ । 

अन्य पाँच जनालाई खडग नगरपालिकास्थित क्वारेन्टाइनमा पठाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट दासले बताए ।


कस्तो लाग्यो ?

यो पनि