बनेपा । र्यापिड किटबाट गरिएको परीक्षणका क्रममा काभ्रेमा दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । दुवै जना वैदेशिक रोजगारीबाट फर्किएका युवा हुन् । तीमध्ये एक जना दुबईबाट फर्किएका हुन् भने अर्का युवा भारतबाट ।
काभ्रे मण्डनदेउपुर नगरपालिका ३ का २३ वर्षीय युवामा र्यापिड किटबाट गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो । उनी चैत ७ गते दुबईबाट फर्किएर स्थानीय सरकारको क्वारेन्टाइनमा बसेका थिए । २२ दिन क्वारेन्टाइन बसेर घर गएका युवामा संक्रमण देखिएको हो । अर्का युवा भने बेथानचोक ५ का हुन् । उनी चैत ९ गते भारतबाट नेपाल आएका थिए ।
र्यापिड किट टेस्टको विश्वसनीयता ६० प्रतिशतको हाराहारीमा हुन्छ । नेपालमै केही व्यक्तिमा र्यापिड टेस्टबाट गरिएको परीक्षण मिलेको छैन । त्यसैले उनीहरूमा संक्रमणको आशंकामात्र गरिएको छ । यसबारे कन्फर्म हुन उनीहरूको स्वाब परीक्षण गरिने छ । अहिले ती दुवै युवकलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिँदै छ ।
काभ्रेमा चैत लागेयता स्वदेश फर्किएका करिब अढाइ सय जनाको र्यापिड किटबाट परीक्षण भइरहेको छ । काभ्रेमा मंगलबारसम्म १ सय ९१ जनाको परीक्षण भइसकेको छ ।