मंसिर ०१, २०८१, शनिबार
               

बाढीपहिरोले मुगुमा लाखौँको अन्नबाली क्षति

नेपाल फ्ल्यास
बैशाख ०२, २०७७

सांकेतिक
ADVERTISEMENT

मुगु । गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबालीमा क्षति पुर्‍याएको छ । मुगु खत्याड गाँउपालिका–११ रातापानीमा रहेको स्याल खोलामाथिबाट पहिरो आई खत्याड खोला थुनेर बाढी आउँदा लुई बगर, डाडिया बगर, जेउडी, माझ बगर र लाडु बगरका खेतमा पाकेर भित्र्याउन मात्र बाँकी रहेका लाखौँको अन्नबाली जौं र गहुँ बगाएको हो ।

“पाकेको जौं र गहुँ भित्र्याउने तयारी गरिरहेका बेला बाढी आएर खेतसहित सबै बाली बगाएर लग्यो । यो लकडाउनका बेला कसरी परिवार पाल्ने हो”, स्थानीय दीपबहादुर कार्कीले टेलिफोनमार्फत भने । “पानी पर्ने र खोलामा बाढी आइरहने क्रम नरोकिएकाले अझै कति क्षति हुने हो थाहा छैन”, उनले भने ।

सोमबार राति नै परेको पानीले जिल्ला कै सोरु गाँउपालिकामा पनि ठूलै क्षति पुर्‍याएको छ । गाँउपालिका–२ नाथर्पु गाँउका लोकबहादुर कार्की र जोगीवाडा गाउँका बुढेनाथ योगीका घरमा बाढी पसेर घर बगाउँदा धनमालका साथै १०  भेडाबाख्रासमेत बगेको स्थानीय स्वास्थ्यकर्मीले जानकारी गराए । उनका अनुसार रावलबाडा, गुल्म, जवारधारामा पनि बाढीले लाखौँको अन्नबाली र खेत बगाएको र घटनास्थल तिर सोरुकोट प्रहरी चौकीबाट प्रहरी बिहानै घटना स्थलतर्फ गएका छन् । 

सोरु गाँउपालिकामा भएको घटनाको जानकारी भएर घटनास्थलतर्फ प्रहरी गएको र ठूलै सङ्ख्यामा भेडाबाख्रा बगाएर मरेको र अन्नबाली पनि लाखौँको क्षति भएको भन्ने जानकारी आफूले पाएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए । घटनास्थलहरु जिल्ला सदरमुकाम गमगढीबाट दुई दिनको पैदलबाट पश्चिम र उत्तरमा छन् ।


कस्तो लाग्यो ?

यो पनि