असोज ०६, २०८१, आइतबार
               

यस वर्षको जिब्रो छेड्ने जात्रा रोकियो

नेपाल फ्ल्यास
बैशाख ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । कोभिड– १९ महामारीका कारण मध्यपुरथिमिमा वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ पहिलो पटक रोकिने भएको छ । मध्यपुरथिमि नगरपालिकाले यस वर्ष बिस्काः जात्रामा मनाइने सम्पूर्ण जात्रा एवं पर्व जात्राकैरुपमा कुनै भीडभाड गरेर नमनाई औपचारिक रुपमा पूजामा मात्र सीमित गर्ने निर्णय गरेपछि सञ्चालकले यो जात्रा पनि रोकेका हुन् ।
    
मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ भन्छन्, “यस वर्ष जिब्रो छेड्ने जात्रा नहुने र महालक्ष्मी मन्दिर परिसरमा लिङ्गो पनि नउभिने जानकारी दिँदै सबै गुठीयारलाई देवदेवीलाई घरभित्रै विधिविधान पुर्‍याएर पूजा गर्न भनेका छौँ । कोरोनाको सङ्क्रमण फैलिन नदिन थिमिको प्रसिद्ध ३२ घटसहितको सिन्दुर जात्रालगायतका सबै जात्रा रोकिने भएको छ, सोही बमोजिम निर्णय भएको छ ।” कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले बन्दाबन्दीको घोषणा गरेको र अत्यधिक भीडभाड हुने यस्ता जात्रा एवं पर्वले सङ्क्रमण बढ्न सक्ने भएकाले जात्रालाई औपचारिक पूजामा सीमित गर्ने भएको जात्रा सञ्चालक बोडेका बासिन्दा बताउँछन् । 

वर्षैंदेखि जिब्रो छेडेर जात्रा धान्दै आएका व्यक्तिहरु भने भीडभाड नगरी जात्रा सञ्चालन गर्नुपर्ने तर्क राख्दै एक वर्ष जात्रा रोक्दा पछिल्ला वर्षहरूमा पनि रोकिएर लोप हुने अवस्थामा पुग्नसक्ने चिन्ता व्यक्त गर्छन् । आठ वर्ष जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका बोडेका जुजुभाई बाँस श्रेष्ठले कोरोना भाइरसको त्रासका कारण यस वर्ष विश्व प्रसिद्ध जात्रा नै रोक्नुपर्ने अवस्था आउनु आफ्ना लागि पीडादायीक भएको बताउछन् । 
    
“जिब्रो छेडेर टोलटोल घुम्ने यो जात्रा बोडेको मात्र होइन देशको एक विश्व प्रसिद्ध जात्रा हो, यो जात्रा कुनै हालतमा रोक्नु हुँदैन भनेर पुर्खादेखि हामीले पनि  निरन्तर चलाउँदै आएका छौँ” जुजुभाईले भने, “तर यस वर्ष जात्रा रोकिने भयो, अब पछिल्ला वर्षमा पनि रोकिएला कि भन्ने चिन्ता लाग्न थालेको छ ।”
    
जिब्रो छेड्ने, छेडाउने, नाइके, पुजारीलगायतका जात्रा सञ्चालन गर्ने मुख्य व्यक्तिलाई मात्र समावेश गरी प्रहरी प्रशासनले अन्य व्यक्तिलाई आउन नदिई छोटो गरी जात्रा चलाउन सरोकारवालाहरूबीच छलफल गरेको भए पनि नमानेपछि अन्ततः जात्रा रोकिने भएको हो । मानव भीडमा एकजना मात्र सङ्क्रमति व्यक्ति आयो भने त्यसले एकै पटक हजारौंलाई कारोना भाइरस सार्न सक्ने भएकाले देशको विषम परिस्थितिलाई बुझेर टोलबासी पनि मूलपूजा र क्षमापूजा मात्र गरेर यस वर्ष जिब्रो छेड्ने जात्रा रोक्न सहमत भएका छन् ।  

जात्रा सञ्चालन गर्न गुठियारहरुले देवतालाई द्योछेँबाट निकालेर खटमा राखेर घुमाउने र टोलटोलका बासिन्दाले पूजा गर्ने परम्परा रहे पनि यसवर्ष भने गुठियारले देवता ननिकाल्ने भएका छन् । जात्रा रोकिदा अनष्टि नहोस भनेर जात्रा पछि क्षमापूजा गर्ने तयारी गरिएको छ । जिब्रो छेड्ने जात्रा रोकिने भए पनि नकर्मी नाइके धर्मलाल नकर्मीले चैत १८ गते नै करिब एक फिट लामो सुइरो विधिवत रुपमा तयार पारेर तेलमा डुबाएर राखेका छन् । हालसम्म अर्थात् १०६ वर्षमा १२ जनाले निरन्तर जिब्रो छेड्ने गरेका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि